Logo

मध्यपहाडी लोकमार्गको ‘रिअलाइनमेन्ट’ गर्न सरकारसँग एमालेको माग



काठमाडौं,९ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्यपहाडी लोकमार्गलाई पुनर्रेखांकन (रिअलाइनमेन्ट) गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार नेकपा एमालेले ‘झुलाघाट –चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा जनताबाट प्राप्त सुझाव र मागहरू कार्यान्वयनका लागि सरकारलाई हस्तान्तरण गर्दै सो माग गरेको हो ।

एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्रका रूपमा जनताका माग, ज्ञापन र सुझावहरू कार्यान्वयनका लागि हस्तान्तरण गरेका थिए ।

मंसिरमा एमालेले गरेको मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानका क्रममा एमाले नेताहरुले मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरुमा अनावश्यक घुमाउरो बनाइएको र वस्ती नै नभएका स्थानमा पनि बाटो खनिएको भन्दै त्यसको टेक्निकल अडिट गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

‘पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नेपालको पहाडी क्षेत्रको विकास र समृद्धिको सम्बाहक परियोजनाका रुपमा रहेको, अधिकांश राजमार्गहरु विदेशी सहायतामा बनेको परिप्रेक्ष्यमा नेपालको आफ्नै स्रोत, इञ्जिनीयरिङ र प्रविधिमा निर्माणाधीन यो परियोजना नेपालीका लागि गौरवको विषय भएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा यसको इञ्जिनीयरिङ, अलाइनमेन्ट र ढाँचामा थुप्रै सुधार गर्नु पर्ने, कतिपय स्थानमा पहिल्यै बनेको स्थानीय सडकमा यसलाई जोडिएको, कतिपय ठाउँमा बस्ती नै नभएका निर्जन स्थानमा बाटो खनिएको र कतिपय ठाउँमा राजनीतिक दबाब र प्रभावका कारण यसलाई अनावश्यक घुमाउरो बनाइएको र यसको १८७९ किलोमिटर लम्बाइ राष्ट्रिय राजमार्गका दृष्टिले उपयुक्त नरहेको निष्कर्षमा साथ यसको ‘टेक्निकल अडिट’ गर्न, आवश्यकता अनुसार विभिन्न ठाउँमा पुनर्रेखाङ्कन (रिअलाइनमेन्ट) गर्न, आवश्यक स्थानमा सुरुङ र भायाडक्ट (अग्ला पुल)को प्रयोग गरी यसको समय र दूरी छोट्याउन, ट्रयाक खोल्न बाँकी ठाउँमा तत्काल ट्रयाक खोल्न, जाजरकोटको मटेलामा तत्काल बेलीब्रिज राख्न र ठेक्का लगाउन बाँकी ठाउँमा तत्काल ठेक्का लगाउन एवं काम अलपत्र पार्ने ठेकेदारहरुमाथि आवश्यक कार्बाही अगाडि बढाउन माग गरिएको छ’ एमालेले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा एमालेले मध्यपहाडका गाउँवस्तीहरुमा बसाइँसराइँ ठूलो चुनौतीको रुपमा देखा परेको, कतिपय गाउँवस्तीहरु रित्तिँदै गएको, विद्यार्थीको अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगेको, खेतीयोग्य जमिन बाँझो बन्दै गरेको र कतिपय ठाउँमा बृद्धबृद्धाहरुको हेरचाह गर्ने र मलामी जाने युवाहरुको समेत अभाव देखिएको भन्दै चिन्ता जनाएको छ ।

बसाइँसराइँको यो नकारात्मक प्रवाहका पछाडि केही वाध्यात्मक कारणहरु भए पनि नेपालमा अवसर नै छैन र नेपाल बन्दैन भन्ने भ्रामक प्रचार, प्रायोजित भाष्य, त्रुटिपूर्ण शैक्षिक प्रणाली र मनोविज्ञानले समेत काम गरेको उल्लेख गर्दै बसाइँसराइँको क्रमलाई न्यून गर्न तत्काल पहलको मागगरेको छ ।

त्यस्तै एमालेले पछिल्लो समय बाँदर, बँदेल, दुम्सी, घोरल लगायत वन्यजन्तुका कारण बालीनालीमा भइरहेका नोक्सानी र पीडा पनि किसानहरुको बसाइँसराइँको कारक बन्न पुगेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि ध्यानाकर्षण गरेको छ ।

पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म फैलिएको मध्यपहाडी लोकमार्गको पूर्वपश्चिम लम्बाइ १ हजार ८७९ किलोमिटर छ । यही लोकमार्गलाई केन्द्रित गरेर एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म ‘संकल्प यात्रा’ अभियान चलाएको थियो । सो अभियानको क्रममा स्थानीयबाट संकलित माग तथा सुझावलाई समेटेर एमालेले आज प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।



प्रतिक्रिया दिनुहोस्