काठमाडौं, १० माघ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो नेपाल एकल राष्ट्रिय राज्य हुन नहुने बताएका छन् । आज (बुधबार) स्वर्गीय गजेन्द्र नारायण सिंहका २२औं पुन्य तिथिको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नेपाललाई बहुल राष्ट्रिय राज्यमा लैजानुपर्ने बताए ।
‘यो देश भनेको एकल होईन । यो देशको सबैभन्दा ठूलो समस्या भनेको यो देश एकल चलाइयो । नेपाल साझा फूलबारी भनेर बनाइयो, तर एकल फूलबारी भनेर चलाइयो । नेपाल एकल जातीय होईन, एकल राष्ट्रिय राज्य होईन । यो बहुल राष्ट्रिय राज्य हो,’– उनले भने ।
नेपाल मधेशी, जनजाती, थारु, खस आर्य सबैको देश भएको अभास हुनुपर्ने उनको भनाइ छ । नेपालका शासकहरुले नेपाललाई सबैको नबनाएर एकल चिन्तनका साथ देश चलाएको उनको आरोप छ ।
नेता महतोले आफूहरु बहुल राष्ट्रिय राज्य स्थापनाको लागि आन्दोलनको तयारीमा रहेको बताए । आफ्नो अधिकार, पहिचान, सभ्यता संस्कृतिको रक्षाका लागि उत्पीडनमा परेका सबै मिल्नुपर्ने उनले बताए । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल