Logo

गण्डकीविरुद्ध सहज जित निकालेको मधेश तेस्रो स्थानमा उक्लियो



काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशले चौथो जित निकालेको छ । आज भएको खेलमा गण्डकीलाई मधेशले १४५ रनले हराएको हो ।

मधेशले दिएको ३३६ रनको विशाल लग्य पछ्याएको गण्डकी ४० ओभरमा १९० रनमा अलआउट भयो । गण्डकीका लागि कमल परियार र इश्वर क्षेत्रीले समामन २७ रन जोडे । कृष ऐरले २६, चन्द्र पौडेलले २३, र रोशन गौतमले २२ रन जोडेको खेलमा समिर कँडेल र मुस्कान थापाले समान १८ रन थपे ।

गण्डकीलाई सस्तैमा रोक्न मधेशका रञ्जित कुमारले ४, कप्तान हरिशंकर साहले तीन तथा प्रदीप पासवानले २ र राजेश यादवले १ विकेट लिए । यो जितसँगै ८अंक जोडेको मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने पराजित गण्डकी ४अंकसहित सातौ स्थानमा रहेको छ ।

यसअघि ओपनर अनिल साहको शतकप्रेरित मधेश प्रदेशले गण्डकी प्रदेशलाई ३३६ रनको विशाल लक्ष्य पेश गरेको थियो ।

कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३५रन जोड्यो । मधेशका लागि ओपनर ब्याटर अनिल साहले १२७ रनको शतकीय इनिङ खेले १२५ बलको सामना गरेका उनले ११ चौका र ६ छक्का हिर्काए । अनिलको यो करिअरको पहिलो शतक हो भने पीएम कपको यस संस्करणको आठौं शतक हो । यसअघि यसं संस्करणमा रासिद खान, विनोद भण्डारी, सन्दीप जोरा, सुजन थपलिया, नरेन भट्ट, मयन यादव, आशुतोष घिरैयाले शतक प्रहार गरिसकेका छन् ।

यसै प्रतियोगितामा अनिलले कोशी र सुदूरपश्चिम विरुद्ध राम्रो इनिङ खेलेपनि शतक बनाउनबाट चुकेका थिए । उनले कोशी विरुद्ध ८८ रन बनाएका थिए भने सुदुरविरुद्ध ६९ रनमा आउट भएका थिए ।

उनले बुधवार नेपाल पुलिस क्लब विरुद्ध १ रन र बागमती प्रदेश विरुद्ध शुन्यमा आउट हुनु बाहेक सबै खेलमा दोहोरो अंक पुर्याएका छन् । उनले आर्मी विरुद्ध १२, एपीएफ विरुद्ध २९, कर्णाली विरुद्ध ४४ रन बनाएका थिए।

अनिलको अतिरिक्त मधेशका लागि अरनिको यादवले अर्धशतकीय पारी खेले ३४ बलको सामना गरेका उनले ५ चौका र ३ छक्का हिर्काउँदै नटआउट ६३ रनको इनिङ खेले त्यस्तै अभिशेक तिवारी १९ बलमा २७ रनमा अविजित रहे ।

पवन सर्राफले ४०, मयन यादवले २७ रुपेश सिंहले ३२ रन जोडेको खेलमा कप्तान हरिशंकर साह भने २ रनमै आउट भए । यो प्रधानमन्त्री कप क्रिकेट इतिहासकै दोस्रो ठूलो योगफल हो ।यसअघि २०१८ मा एपीएफले मधेशलाई ३३९ रन हानेको थियो ।



प्रतिक्रिया दिनुहोस्