Logo

उर्लाबारीमा भेटिएको हिउँ चितुवा सदर चिडियाखानामा ल्याइयो (फोटोफिचर)



काठमाडौं, १२ माघ । गत बुधबार मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको हिउँ चितुवा सदर चिडियाखानामा ल्याइएको छ । उक्त चितुवा आज (शुक्रबार) सदर चिडियाखाना जावलाखेलमा ल्याइएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्रकार सम्मेलनमार्फत मोरङमा भेटिएको उक्त हिउँ चितुवा उद्धार गरी सदर चिडियाखानामा ल्याइएको जानकारी गराएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु ढुङ्गानाले उर्लाबारी क्षेत्रमा हिउँ चितुवा भेटिनु अस्वभविक भएको बताए ।

समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेलापरेको र यो अस्वाभाविक रहेको संरक्षण विज्ञहरूले जानकारी गराए । उक्त हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएको, बाहिरी कुनै किसिमको चोट नदेखिएको र अवस्था समान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विज्ञहरूले उर्लाबारीमा हिउँ चितुवा कसरी आइपुग्यो भन्नेबारेमा अनुसन्धान थालिएको पत्रकार सम्मेलनमा बताए ।

नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा पाइन्छ । नेपाललगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको प्रजाति हो ।

विश्वमा पाँच सय मिटरदेखि पाँच हजार आठ सय मिटरको उचाइमा र नेपालमा हिउँ चितुवा दुई हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा पाइएको छ । हिमाली क्षेत्रको १२ संरक्षित क्षेत्र तथा आसपासका क्षेत्रमा करिब १२ हजार आठ सय १५ वर्ग किलोमिटर क्षेत्रमा सम्भावित बासस्थान रहेको छ ।

यसको सङ्ख्याको वितरणका आधारमा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्मको हिउँ चितुवाको बासस्थानलाई पश्चिमी भूपरिधि, मध्य भूपरिधि र पूर्वी भूपरिधिमा विभाजन गरिएको छ । विश्वमा यसको अनुमानित सङ्ख्या तीन हजार नौ २१ देखि छ हजार दुई ९० रहेको छ । नेपालमा तीन सय एकदेखि चार सय सङ्ख्यासम्म रहेको अनुमान गरिएको छ । यो प्रजाति संवेदनशील वर्गमा र नेपालको संरक्षित सूचीमा पर्दछ । फोटोः मुकुन्द कालिकोटे / रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्