Logo

गठबन्धन दलका उम्मेदवारलाई हराउनु दुःखद् हो, माओवादीले कांग्रेसलाई सचेत गराउनुपर्छः मन्त्री यादव



काठमाडौं, १३ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं खानेपानी मन्त्री महिन्द्र राय यादवले राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट नेपाली कांग्रेसले सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवारमाथि घात गरेको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसका जनप्रतिनिधिहरुले गठबन्धन दलका साझा उम्मेदवारलाई हराउनु दुःखद् रहेको बताए । कांग्रेसले आफ्नै पार्टीेको उम्मेदवारलाई समेत हराउने गरेको बताउँदै उनले यसको गम्भीर समीक्षा गरेर गठबन्धन अगाडि बढ्नुपर्ने बताए । राष्ट्रिय सभा निर्वाचनमा कोशीमा भएको घटनाले सत्ता गठबन्धनलाई तत्काल कुनै असर नपर्ने उनको भनाइ छ । उनले वर्तमान सत्ता गठबन्धन संविधानको रक्षा, शान्ति, समृद्धिका लागि बनेको दाबी गरे ।

‘नगर्नु पर्ने काम कोशीमा गरे । त्यो एकदम दुःखद् हो । कांग्रेसले माओवादीको उम्मेदवारलाई मतदान गरेन । तर, यसले गठबन्धनमा कुनै असर पर्दैन । यसलाई समीक्षा गरेर अगाडि बढ्ने हो । किनकी यो गठबन्धन भनेको मुलुकको संविधान, शान्ति, समृद्धिका लागि बनेको हो । यसरी घटना घटाएर गठबन्धनलाई पनि कमजोर बनाउने खेल भयो । स्वयं नेपाली कांग्रेसका लागि पनि यो चिन्ताको विषय हो,’– मन्त्री यादवले भने ।

कोशीको घटनाबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिवद्धताको साथ अगाडि बढ्नुपर्ने उनको भनाइ छ । कांग्रेस निर्वाचनबाट बढि सिट आउँदा आत्तिने गरेको उनको टिप्पणी छ । कोशीमा सत्तारुढ गठबन्धन दलका उम्मेदवारलाई हराउन भूमिका खेलेका कांग्रेसका नेताहरुले राजनीतिक नैतिकता गुमाइसहेको उनको भनाइ छ । अब माओवादीले कांग्रेसलाई सचेत गराएर गठबन्धनलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ छ ।

‘कांग्रेस पार्टी आफ्नैलाई त हराउँछ । बढि सिट आयो भने कांग्रेसहरु आत्तिन्छन् । त्यहाँ (कोशीमा) जुन प्रकारको प्रस्तु्ति भयो त्यो द्ुःखद् प्रस्तुति हो । तर, यसकै कारणले अहिलेनै गठबन्धन भत्किँदैन । कांग्रेसका नेताहरु जसले गर्नुभयो, उहाँहरुको नैतिकता गुमिसक्यो । अब माओवादीले कांग्रेसलाई सचेत गराउँदै अगाडि बढ्ने हो,’– उनले भने ।

गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले कोशीबाट हार व्यहोर्नु परेको थियो । सत्तारुढ गठबन्धन दलमा स्पष्ट बहुमत हुँदाहुँदै पनि कांग्रेसका जनप्रतिनिधिहरुले फ्लोर क्रश गरेर नेकपा (एमाले) की उम्मेदवार रुक्मिणी कोइरालालाई विजयी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्