Logo

माओवादी निर्णायक शक्ति हो, कांग्रेससँग असन्तुष्ट छौंः उपमहासचिव पोखरेल



काठमाडौं, १३ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीबाट सत्तारुढ गठबन्धनको साझा उम्मेवदार चम्पा कार्कीले हार्नुको मूल जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्ने बताएका छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले जित्नु र माओवादी नेतृले हार्नुमा बेइमानी भएको बताए । उनले कांग्रेसले यसको जिम्मेवारी लिएर समाधान दिनुपर्ने बताए ।

‘गठबन्धन गर्यौं । हाम्रा उम्मेदवार पराजित हुनुभयो । पराजित गराइयो । स्वभाविक ढंगले गठबन्धनको कोणबाट चाहीँ हामीले नेपाली कांग्रेसलाई नै कुराकानी गर्ने भयौं । मेरो विचारमा अहिले यसलाई समग्र कांग्रेसको समस्या कि गुटगत समस्या भनेर छुट्टिन बाँकी छ । हाम्रो पार्टीका साथीहरुले पनि अध्ययन गरिराख्नु भएको छ । कृष्ण सिटौलाजी जित्नुभयो । हाम्रो उम्मेदवार हार्नुभयो । त्यसकारण त्यसको मूल जिम्मेवारी कांग्रेसले लिनुपर्छ । अब कसले हराएको भन्ने कुरा कांग्रेसले नै दिनु्पर्छ,’– उनले भने ।

गठबन्धन २०७९ मंसिरमा भएको प्रतिनिधि सभाको परिणामको बाध्यात्मक परिस्थिति भएको बताउँदै उनले गठबन्धन छ भनेर यो बीचमा भएका घात, प्रतिघातलाई छोड्दै जान नसकिने बताए । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशको परिणामले माओवादी नेतृत्व असन्तुष्ट रहेको र आफूहरुलाई चित्त नबुझेको उनले बताए । यसबारे आ–आफ्नो पार्टीमा समीक्षा गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

नेपालको अहिलेको संसदीय सत्ता समीकरणको आधारमा गठबन्धन बनाउने मूल शक्तिनै माओवादी भएको दाबी गर्दै उनले आफूहरुको संसद्मा अंकगणित कमजोर भएपनि राष्ट्रिय राजनीतिमा निर्णायक ठाउँमा रहेको बताए । एउटा घटनाको कारणले माओवादीले सत्ता नछोड्ने उनले बताए ।

‘यो गठबन्धन हामीले बनाएको हो । यो हामीले छोडेर जाने विषय होइन । नेपालको अहिलेको संसद्को बनाओटमा यो बनाउने मूल शक्तिनै माओवादी हो । कमजोर भएपनि राष्ट्रिय राजनीतिमा निर्णायक ठाउँमा छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्