काठमाडौं, १३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नो सपना नेपाल वायु सेवा निगमलाई राम्रो बनाउने रहेको बताएका छन् । आज (शनिबार) निगमको सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्दै उनले वायु सेवा निगमलाई देशकै गौरवको विषय बनाउन आफूहरु लागिरहेको बताए ।
उनले निगमले अन्तर्राष्ट्रिय जगतमा देशको अनुसार देखाइरहेको र विश्वमा राष्ट्रिय ध्वजा बोकेर हिँडिरहेको उनले बताए । आफू मन्त्री हुँदा सबैभन्दा चुनौति निगममा छ भनेर धेरैले भनेको स्मरण गराउँदै उनले आफ्नो सफलता र असफताको मार्गचित्र निगमले निर्माण गर्नेछ भनेर काममा लागेको बताए । वर्ष दिनको अनुभवले आफूहरु अगाडि बढिरहेको अनुभूति भइरहेको उनले बताए । उनले कछुवाकै गतिमा भएपनि आफूहरु अगाडि बढिरहेको बताए ।
‘हाम्रो देशको अनुहार अन्तर्राष्ट्रिय जगतमा देखाउने निगम हो । यो निगमलाई राम्रो बनाउन पर्छ भन्ने मेरो मात्रै होईन, अहिलेका वर्तमान प्रधानमन्त्रीको पनि सपना हो । जसले हाम्रो राष्ट्रिय ध्वजा बोकेर संसार घुम्ने गर्छ । जसले हाम्रो इतिहास र वर्तमानको गौरवलाई प्रस्तुत गर्ने गर्दछ,’– उनले भने ।
आजदेखि आफूहरु मातृभूमिको पुजा गरेर नयाँ कामको सुरुवात गरेको बताउँदै मन्त्री किरातीले अब निगमको गाडीमा गियर चेन्ज भएको दाबी गरे । अब निगमले स्पिड लिने उनले विश्वास व्यक्त गरे ।
‘भूमिको पुजा गरेर अर्थात् मातृको पुजा गरेर हामी अगाडि बढेका छौं । मलाई लाग्छ, आजदेखि निगमको गाडीमा गियर चेन्ज हुनुपर्छ । मलाई लाग्छ आजदेखि गियर चेन्ज भएको छ । यसले अब स्पिड लिन्छ भन्ने मलाई विश्वास छ,’– उनले भने ।