काठमाडौं, १३ माघ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका क्रममा साहदत प्राप्त गरेर सहिद घोषणा हुन बाँकी रहेका तीन हजारभन्दा बढिलाई छिट्टै सहिद घोषणा गर्ने तयारी रहेको बताएका छन् ।
आज (शनिबार) माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जनयुद्धका क्रममा साहदत प्राप्त गरेर सहिद घोषणा हुन बाँकी रहेका तीन हजारभन्दा बढिलाई सहिद घोषणा गर्न मन्त्रीपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताएका हुन् ।
आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका सहिदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको समेत बताए ।
‘यहाँ छुट भएका केही म तपाईहरुलाई जानकारी गराउन चाहन्छु झन्डै ३ हजार छुट भएकाको सहिद घोषणा चाहिँ फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ ।…अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।
साथै उनले माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वानसमेत गरेका छन् । उनले जनताको संघर्षबाट प्राप्त उपलब्धी र परिवर्तनको रक्षाको निम्ति छरिएर रहेका माओवादी घटकहरु एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।
‘देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एक ढिक्का भएर काम गर्न अपिल गर्दछु,’– प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिद, बेपत्ता र घाइतेहरुलाई राज्यले कुनै न कुनै सम्बोधन गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । जनयुद्धका कतिपय घाइतेहरु सूचीकृत हुन छुटेको भन्ने आफूलाई जानकारी आएकाले सरकारले त्यसतर्फ पनि सम्बोधन गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
साथै, वर्तमान सरकारले थालनी गरेको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका कामले जनतामा आशा जगाउन सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुंगिनेसमेत बताए ।