Logo

निराशाका कुरा गरेर मात्र हुँदैन, मुलुक बन्छ भन्ने आशा जगाउनुपर्छ : नेता वाग्ले



काठमाडौं, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति एवं प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले मुलुक बन्छ भन्ने आशा जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । वाग्लेले निराशाले मुलुक समृद्ध नहुने भएकाले आशाको किरण जगाउनुपर्ने बताएका हुन् ।

आज तनहुँ उद्योग वाणिज्य सङ्घको १७औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति पदस्थापन कार्यक्रममा उनले भने, “सधैँ निराशाका कुरा गरेर मात्र हुँदैन । मुलुकलाई समृद्ध बनाउन सकिन्छ, त्यसका लागि सबै आशावादी बन्नुपर्छ ।”

डा. वाग्लेले राजनीतिलाई सङ्ल्याउँदै विकृति र विसङ्गति हटाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । त्यसका लागि राजनीतिक दल नै जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।

रास्वपाले संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताउँदै डा. वाग्लेले रास्वपा अब सदन र सडक दुवैमा क्रियाशील हुने बताए । “हामी संसद्मा विभिन्न विधेयक दर्ता गर्छौँ तर अहिलेको प्रणालीले बहुमतका आधारमा ती विधेयक फेल हुने गरेका छन् । त्यस्ता विधेयकहरू जनताका माझ लगेर यो ठीक छ वा छैन भनेर सोध्छौँ,”– उनले भने ।

वाग्लेले देशभरका अलपत्र विकास योजनामा पनि पार्टीले खबरदारी गर्ने नीति लिएको बताए ।



प्रतिक्रिया दिनुहोस्