Logo

सरकारलाई ज्ञानबहादुर शाहीको चुनौती, ‘दरबार हत्याकाण्ड ज्ञानेन्द्रले गरेको हो भने कारबाही गरेर देखाउ’



काठमाडौं, १४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डका बारेमा सही समयमा बोलेको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रले त्यतिखेर बोलेको भए सबैले नपत्याउने अवस्था रहेकाले अहिले आएर दरबार हत्याकाण्डको वास्तविकताबारे बोल्न परेको बताएका हुन् ।

नेता शाहीले विशेषगरी तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुले बेला–बेलामा दरबार हत्याकाण्डको सत्य तथ्य बाहिर ल्याउने भनेर बोल्ने गरेपनि सत्तामा पुगेपछि वास्ता नगरेको उनको आरोप छ । उनले उनीहरुलाई दरबार हत्याकाण्डबारे छानविन गर्न के–ले रोक्यो ? भनेर प्रश्नसमेत गरेका छन् । तत्कालीन गृहमन्त्री रहेका रामचन्द्र पौडेल अहिले राष्ट्रपति हुँदासमेत उक्त कहालिलाग्दो र विभत्स हत्याबारे छानविन भएको भन्दै आपत्ति जनाए ।

‘पहिला उहाँ (ज्ञानेन्द्र) ले बोलेको भए जनताले विश्वास मान्दैन थिए । किनकी उहाँ नेपालको राजा हुनुहुन्थ्यो । राजा भएको बेला र सत्ता भएको बेला उहाँले बोलिदिँदा खेरी मान्छेले के सोच्थे भने आफैं राजा छ भन्थे । तर, सरकार त नेपाली कांग्रेसको थियो । उहाँले दरबार छोडेको पनि झण्डैझण्डै १५ वर्ष पुग्यो ।’ उनले भने, ‘१५ वर्षसम्म दरबार हत्याकाण्डका दोषी पत्ता लगाउँछौं भन्नेलाई कसले रोक्यो । सेना उनीहरुकै, व्यवस्था उनीहरुकै, प्रधानमन्त्री उनीहरुकै छन्, गृहमन्त्री उनीहरुकै छन्, राष्ट्रिय अनुसन्धान उनीहरुकै छ, अदालत उनीहरुकै छ । हुँदाहुँदा तत्कालीन गृहमन्त्री रामचन्द्र पौडेले अहिले यो देशको राष्ट्रपति हुनुहुन्छ । दरबार हत्याकाण्डका दोषी पत्ता लगाउन कसले रोक्यो यिनीहरुलाई ? आज पूर्वराजाले बोलि पनि सक्नुभयो । हाम्रो परिवारमाथि आरोप लगाइयो । छानविन होस् हामी नेपालमै छौं भनिसक्नु भएको छ ।’

दरबार हत्याकाण्डबारे सबैभन्दा बढि भ्रम माओवादीले फैलाएर युद्धकालमा मुद्दानै त्यही बनाएको उनको आरोप छ । प्रचण्डले पहिलो पटक प्रधानमन्त्री भएर शपथ खाँदैगर्दा दरबार हत्याकाण्डको दोषी पत्ता लगाउँछु भनेपनि तीन पटक प्रधानमन्त्री बनेपनि वास्ता नगरेको उनले टिप्पणी गरे । दरबार हत्याकाण्ड दरबारकै मान्छेले गरेको यो भने प्रमाण जुटाएर पक्राउ गरी कारबारी गर्न उनले सरकारलाई चुनौति दिए ।

अमेरिकाले भारतलाई प्रयोग गरेर नेपालमा युद्ध सुरु गराएको र उनीहरुकै दरबार हत्याकाण्ड मच्चाइएको उनको दाबी छ ।अमेरिकाले भारतलाई प्रयोग गरेर नेपालमा युद्ध सुरु गराएको र उनीहरुकै दरबार हत्याकाण्ड मच्चाइएको उनको दाबी छ । राजसंस्था सक्नका लागि दरबार हत्याकाण्ड मच्चाएर त्यसको आरोप भाइ (ज्ञानेन्द्र) माथि लगाइएको उनले बताए । यदि दाई मार्न सक्ने खुबी र सत्ताको भोक थियो भने जनआन्दोलनमा उहाँलाई जनता मार्न के–ले रोकेको थियो ? भन्दै उनले प्रश्न गरे । नेपाली मार्न नदिएर सत्तानै छोडेका ज्ञानेन्द्रलाई आरोप लगाउनु डिजाइन भएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्