काठमाडौं, १४ माघ । नेपाली कांग्रेस काठमाडौं १० का नेता मधुसुदन अधिकारीका दाइले अतिक्रमण गरेको सार्वजनिक जग्गामा काठमाडौं महानगरपालिकाको डोजर नलागेको पाइएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयसँगैको सरकारी जग्गा हडप्ने अधिकारीको कम्पाउण्डवालमा महानगरको डोजर नलागेपछि वडाका जनप्रतिनिधिहरुको भूमिकामाथि प्रश्न उठेको छ ।
शुक्रबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीसहितको टोलीले वडा कार्यालयसँगै अतिक्रमणमा परेको जग्गामा डोजर लगायो । तर, कांग्रेस नेता अधिकारीका दाइले हडपेको सरकारी जग्गामा भने त्यो डोजर लागेन । यसले वडाका जनप्रतिनिधिको भूमिकामाथि गम्भीर प्रश्न खडा भएको हो ।
मधुसुदन नेपाली कांग्रेस वडा नम्बर १० को इकाई सचिव हुन् । उक्त इकाइको सभापति काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी आफैं छन् । त्यसैले उनीहरुको मिलेमतोमा अधिकारीको दाइले हडपेको सरकारी जग्गामा डोजर नचलेको आरोप लागेको हो ।
सबैको जग्गामा डोजर चल्दा अधिकारीले भने जोगाउन सफल भएका छन् । त्यस्तै वाणगंगा समाजले हडपेको सरकारी भवन पनि त्यसै छाडिएको छ । उक्त समाजको सचिव पनि कांग्रेस नेता अधिकारी नै हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधिले राजनीतिक प्रतिशोध र पक्षपातका आधारमा काम गर्दै आएका छन् भन्ने यो घटनाले पुष्टि गरेको छ । आफ्नालाई जोगाउने र अर्कालाई ठोक्ने नितिले महानगरेकै बदनाम भएको चर्चा चल्न थालेको हो ।