काठमाडौं, १४ माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतामाथि कटाक्ष गर्दै ‘आजकाल राजेन्द्र, रविन्द्र र ज्ञानेन्द्र (ज्ञानबहादुर) गाउँमा जाँदा जनताले के भनेर बोलाउँछन् होला ?’ भनी जिज्ञासा राखेका छन् ।
‘आजकाल राप्रपाको राजेन्द्र, रबिन्द्र, ज्ञानबहादुर गाउँमा जादा जनताले के भनेर बोलाउछन होला ? साह्रै जिज्ञासा जागेको छ । लिङ्देन सर तपाईंको सोच बदलियो वा जनताले राजनीति गर्ने मान्छे गाउँमा जादा सम्बोधन गर्ने शब्द फेरियो ? सार्वजनिक कार्यक्रममा तपाइले दिएको अभिव्यक्तिबारे तपाईं मौन किन ? जनता सुन्न आतुर छन्, जान्न उत्सुक छन्,’– शेर्पालीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले अचेल गाउँमा जाँदा ‘नेतालाई कुन चाहिँ चोर आएछ भन्छन्’ भनेर अभिव्यक्ति दिएका थिए ।
पछिल्लो समय राप्रपा अध्यक्ष लिङ्देनले आफ्नै पार्टीकी नेतृ रेखा थापा अमेरिका गएको बारे टिप्पणी गरेका थिए । राजेन्द्रको उक्त टिप्पणीमा जवाफ दिँदै रेखाले ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ? अमेरिकामा किन राखेको ?’ भनी प्रश्न गरेकी थिईन ।
त्यसैगरी, कोशी र बागमती प्रदेश लगायतका प्रदेशमा सभामुख राप्रपाको छ । संविधान र व्यवस्थाको विरोधमा उत्रिएको राप्रपाले सभामुख लिन हुँदैन भनेर राप्रपाभित्रै एउटा पंतिले विरोध गरिरहेका छन् । अहिले प्रदेशको सभामुखलाई लिएर राप्रपामा भाँडभैलो नै छ ।
देश र देशभक्तिबारे बोलेर नथाक्ने राजेन्द्रले आफ्नै छोरी अमेरिका पठाएको र राप्रपा भित्रको भाँडभैलोबारे टिप्पणी गर्दै वाइसीएल अध्यक्ष शेर्पालीले यस्तो प्रतिक्रिया जनाएका हुन् ।