Logo

आयोगले राष्ट्रपतिसमक्ष बुझायो राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन



काठमाडौं, १४ माघ । निर्वाचन आयोगले गत माघ ११ गते सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ । आज (आइतबार) आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।

आयोगको निर्वाचन प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले संवैधानिक व्यवस्था बमोजिम निर्वाचन समयमा नै सफलताका साथ सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरे । निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत गर्ने काम आयोगको भएको भन्दै संविधान तथा संघीय कानून बमोजिम सम्पन्न गर्नुपर्ने सबै तहका निर्वाचनका लागि आयोग सदा तयारी अवस्थामा रहन निर्देशन दिए ।

साथै, निर्वाचनमा मतदाताले आफूले चाहेको र रोजेको उमेदवारलाई स्वतन्त्र र भयरहित वातावरणमा आफ्नो गोप्य मताधिकारको प्रयोग गर्न पाउने मतदाताको सार्वभौम अधिकारको सुनिश्चितता कायम गर्नुपर्ने विषयमा राष्ट्रपति पौडेलले आयोगका पदाधिकारीहरुको ध्यानाकार्षण गराए ।

प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी २०८० फाल्गुन २० गते देखि रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएकोमा ८ राजनीतिक दलका ५१ जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा भई ५ राजनीतिक दलका १९ जना उम्मेदवार निर्वाचित भएको विवरण प्रस्तुत गरे ।

निर्वाचनमा सातै प्रदेशका कूल दुई हजार ४६ मतदाता मध्ये एक हजार नौ सय ९९ मतदाता मतदान कार्यमा सहभागी भएको र सोही दिन मतगणना गरी निर्वाचित १९ जना राष्ट्रिय सभा सदस्यहरुको नतिजा समेत प्रकाशन गरिएको व्यहोरा अवगत गराए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले सम्पन्न गर्ने निर्वाचनमा सार्वभौम नागरिकले आफूले चाहेको र रोजेको उम्मेदवारलाई स्वतन्त्रतापूर्वक र भयरहित वातावरणमा आफ्नो गोप्य मताधिकारको प्रयोग गर्न पाउने मतदाताको सार्वभौम अधिकारको सुनिश्चितताका लागि आयोग सदा क्रियाशील रहेको र निर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न निर्वाचन आचारसंहिताको कार्यान्वयनमा विशेष जोड दिँदै आएको विषयसमेत प्रष्ट पारे ।

प्रतिवेदन पेश गर्ने उक्त कार्यक्रममा निर्वाचन आयुक्तहरू, आयोगका सचिव लगायत कर्मचारीहरू तथा राष्ट्रपति कार्यालयका सचिव, सम्माननीय राष्ट्रपतिज्यूका सल्लाहकार, विज्ञहरू, स्वकीय सचिव लगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot