काठमाडौं, १५ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले काम नगर्ने मन्त्रीलाई फिर्ता बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहयोग गर्नुपर्ने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले अहिले सरकारको नेतृत्व नगरेपनि ठूलो पार्टी भएका नाताले जस अपजस आफूहरुले लिनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई काम गर्न कम्फर्टेबल हुनेगरी सहयोग गर्नुपर्ने बताएका हुन् ।
संसद्को पहिलो पार्टी, सरकारमा सहभागी भएको र जनताले सबैभन्दा बढि विश्वास गरेर सरकारमा पुर्याएको पार्टी कांग्रेसले सरकारमा जानका लागिमात्रै गयो र जनतालाई डेलिभरी गरेन भने निर्वाचनका बेला जनतामा जाने विषयनै नरहने उनको भनाइ छ ।
‘सरकारमा मन्त्रीहरु अदल बदल गर्ने कुराको बारेमा मैले के भनेको हो भने हाम्रो सम्झौता अनुसार अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्छ । उहाँलाई कम्फर्टेबल हुनेगरी हामीले सहयोग पुर्याउन सक्नुपर्छ ।’ नेता पौडेलले भने, ‘उहाँलाई कहाँ समस्या भएको हो ? किनभने हामीले प्रधानमन्त्री नै मानिसकेपछि फेरि सानातिना कुरामा समस्या गरेर, इन्ट्रेस्ट देखाएर अगाडि बढ्नु हुँदैन । उहाँ सफल हुँदा हामीले पनि जस पाउने स्थिति बन्नसक्छ । त्यसैले प्रधानमन्त्रीको चाहना हो भने त्यसमा हामीले सहयोग पुर्याउन सक्नुपर्छ ।’
फरक प्रसंगमा उनले राष्ट्रिय सभाको अध्यक्ष कृष्णप्रसाद सिटौलानै हुने बताए । शान्ति प्रक्रिया र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको व्यक्ति भएकाले अहिलेको गठबन्धनलाई सहज रुपमा अगाडि बढाउन राष्ट्रिय सभाको नेतृत्व सिटौलालाई दिनु उपयुक्त हुने उनको भनाइ छ ।