काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालय र प्रतिष्ठानको कूलपति प्रधानमन्त्री नै रहने कुरा व्यवहारिक नभएको बताएका छन् । आज (सोमबार) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभालाई सम्बोधन गर्दै उनले एकेडेमिक व्यक्तिलाई विश्वविद्यालयको कूलपति बनाउँदा झनै फलदायी हुने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले हिजोका दिनमा त्रिभुवन विश्वविद्यालयमात्रै रहेको अवस्थामा कूलपति प्रधानमन्त्री नै रहने व्यवस्था ठीकजस्तो देखिएपनि यतिधेरै विश्वविद्यालय र प्रतिष्ठान खुलिसकेको अवस्थामा उक्त प्रावधानका बारेमा सोच्न र विचार विमर्श गर्न आवश्यक रहेको बताएका हुन् ।
‘कूलपति चाहीँ प्रधानमन्त्री हुने, सबै विश्वविद्यालयको, सबै प्रतिष्ठानहरुको भन्ने जो हाम्रो नीति छ । हिजो त्रिभुवन विश्वविद्यालय, एउटामात्रै मुख्य विश्वविद्यालय हुँदा त ठीकै पनि थियो होला । तर, अहिले यतिधेरै विश्वविद्यालय र यतिधेरै प्रतिष्ठान भएपछि प्रधानमन्त्री नै कूलपति हुने कुरा कति व्यवहारिक र वैज्ञानिक छ भन्ने कुरा सोच्न जरुरी छ । म यहाँहरु समक्ष पनि अनुरोध गर्न चाहन्छु, यसबारे विचार विमर्श गरौं र एकेडेमिक व्यक्तित्वलाई नै कूलपति बनाइयो भने त्यो बढि फलदायी हुनसक्छ,’– सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले भने ।