काठमाडौं,१५ माघ । मध्यक्रमका ब्याटर कुशल मल्लको अर्धशतकप्रेरित विभागीय टिम त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई २६३ रनको चुनौती पेश गरेको छ ।
कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको आर्मीले ४८।३ ओभरमा अलआउट हुनुअघि २६२ रन जोड्न सक्यो । आर्मीका लागि सर्वाधिक रन जोडेका कुशल मल्लले अर्धशतक प्रहार गरे ।
६७ बलको सामना गरेका मल्लले १० चौका र ३ छक्का हिर्काउँदै ७५ रन जोडे । सन्दीप रजालीले ३७, वसिर अहमदले ३६, सोमपाल कामीले ३१, सन्तोष कार्कीले ३०, शाहब आलमले २१ तथा इमरान शेखले ९ रन थपे । कप्तान विनोद भण्डारी र भीम सार्की समान २ रनमा आउट हुँदा विवेक यादवले पनि ४ रन मात्र थप्न सके । जितेन्द्र मुखियाले ५ रन थपेको खेलमा आर्मीले अतिरिक्तमा १० रन पायो ।
बलिङतर्फ सुदूरका भोजराज भट्टले सर्वाधिक ६ विकेट लिए । ९।४ ओभर बलिङ गरेका भट्टले ६३ रन खर्चिए भने नरेन साउदले तीन विकेट लिए । एक विकेट विकाश आग्रीको नाममा रह्यो । आर्मी ७ खेलमा ५ जित सहित १० अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ । सुदुरपश्चिम भने ६ खेलमा ४ जित सहित ८ अंक बटुल्दै पाचौं स्थानमा छ ।शीर्ष २ को यात्रा तय गर्न आर्मी र सुदूर दुवैले यो खेल जित्नै पर्ने दवाव रहेको छ ।