Logo

भारत भ्रमणमा जानुअघि अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति यादव र सभामुख घिमिरेबीच छलफल



काठमाडौं, १५ माघ । एक दर्जन सांसद्को नेतृत्व गरेर भारत भ्रमणमा जान लागेका प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र सभामुख देवराज घिमिरेबीच भेटघाट भएको छ ।

भारत सरकारको निमन्त्रणमा भोलि एक दर्जन सांसदहरु भारत जान लागेका छन् । भ्रमण अघि सभामुख घिमिरेसँग सभापति यादवले छलफल गरेका हुन् । सभापति यादवले आजै अन्तर्राष्ट्रिय क्षेत्रका जानकार, पूर्व राजदूत तथा कूटनीतिक क्षेत्रका जानकारसँग पनि छलफल गरेका छन् ।

यादव नेतृत्वको टोलीले आजै साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्ने भएको छ । पार्टी निकट पत्रकारहरुको सम्मेलनका लागि वीरगञ्ज पुगेका प्रचण्ड आजै साँझ काठमाडौं आउँदैछन् । उनी काठमाडौं आएपछि भेट्ने कार्यक्रम तय भएको उनले बताए ।

भोलि भारत जान लागेका सांसदहरु फेब्रुअरी ७ सम्म भारतमा रहनेछन् । समितिका सभापति यादवले भ्रमण दलमा १२ जना सांसदहरु सहभागी हुने रिपोर्ट नेपाल डटकमलाई जानकारी दिए ।

भ्रमणको क्रममा नेपाली प्रतिनिधि मण्डलले भारतको लोकसभाका सभामुखसँग भेटवार्ता गर्ने तय भएको छ । सो भेटवार्ता भने यही जनवरी ३१ मा हुनेगरि तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot