Logo

सरकार आलोचित बनिरहेको अवस्थामा कांग्रेस सत्तामा झुण्डिरहन हुँदैनः कांग्रेस नेतृ संग्रौला



काठमाडौं, १५ माघ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राष्ट्रिय सभा सदस्य निर्वाचनको समयमा कोशी प्रदेशमा भएको भोट क्रसले देशको राजनिति नै तरङ्गित बनेको बताएकी छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लव नेपाल, लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीमा भएको त्रुटी सच्चाउँदै गठबन्धनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिईन् ।

उनले गठबन्धन ईमान्दारीपूर्वक अगाडि नबढे मूलुकमा ठूलो संकट आउने बताईन् । गठबन्धन जुन उद्देश्य र भावनाले अगाडी बढेको छ त्यहि अनुरुप व्यवहारमा कार्यान्वयन गर्नसमेत उनले दलका नेताहरुलाई आग्रह गरिन् ।

‘यतिबेला गठबन्धनको सरकार छ । गठबन्धनमा ईमान्दारीतापूर्ण काम नगरे संकटको अवस्था आउन सक्नेछ । कोशी प्रदेशमा भएको क्रस भोटले गठबन्धनमा केही अन्यौलता सिर्जना गरेको छ । यसलाई दोहोरिन नदिने गरि काम गर्न जरुरी छ,’– उनले भनिन् ।

सबै वडामा एकैपटक कांग्रेस, समुदायमा जाऔं जनताका कुरा सुनौ अभियानको शिलशिलामा जिल्ला अभियानमा रहेकी डा. संग्रौलाले देशको राजनितिक अवस्थालाई सही मार्गमा ल्याउन कांग्रेसको विकल्प नभएको बताउँदै जनतामाझ भएका गुनासो सम्बोधन गर्न पार्टीले अभियान चलाएको बताईन् ।

उनले गठबनधनको सरकारले सोचेअनुसारको काम गर्न नसकेको बताउँदै यो अवस्थामा पनि काम गर्न नसके जनताले छुट नदिने बताईन् । गठबन्धन सरकारको नेतृत्वले काम गर्न नसकी आलोचित बनिरहेको अवस्थामा कांग्रेस सरकारमा झुण्डिरहन नहुने उनको सुझाव छ । उनले पार्टीलाई बलियो बनाउनको लागि अभियान प्रभावकारी रहने बताउँदै अब पार्टी गुट उपगुट भन्दापनि एक ढिक्का भएर अगाडि नबढे कमजोर बन्ने ठोकुवा गरिन् ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले कांग्रेसले अहिले सञ्चालन गरेको अभियान समयसापेक्ष रहेको बताए । अभियानपछि लुम्बिनी प्रदेश समितिले घर–घरमा कांग्रेस अभियान लिएर जाने उनले बताए ।

रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस प्रदेश सदस्य विष्णु पोखरेललगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot