Logo

‘जबज’ लाई लिएर एकीकृत समाजवादीमा भाँडभैलोः झलनाथ भन्छन्, ‘त्याग्नुपर्छ’, माधवको जवाफ ‘पेटेन्ट राईट हामीसँग छ’



काठमाडौं, १५ माघ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई लिएर विवाद सुरु भएको छ ।

आज (सोमबार) पार्टीको केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले जबज त्याग्नुपर्ने धारणा राखे । त्यसपछि लगत्तै बैठकलाई सम्बोधन गरेका अध्यक्ष नेपाले कुनै पनि हालतमा जबज त्याग्न नसकिने बताए । जबजको पेटेन्ट राईट नै आफूहरुसँग रहेको धारणा उनले राखे ।

‘कहिले हामी जबज भन्छौं, कहिले हामी समाजवाद पनि भन्छौं । कता जाने त ? जबजै तपाईँ भन्नुृहुन्छ भने त ठूलो जबजतिर किन नजाने भन्छ नि मान्छेले । ठूलो जबज त एमाले छ । हामीले जबज भन्ने हो भने त हामीले भनेको सुन्नेभन्दा उता केपीले भनेको बढ्ता सुन्छ । त्यो खतरा हुन्छ । हामी क्लियर हुनुपर्छ । अनिमात्रै हामी समाजवादको बाटोमा जान्छौं ।.. जबजको बारेमा किन लेलिनले जबज मान्नु भएन ? यसमा बहस गरौं । यी कुराहरुमा गहन ढंगले अध्ययन गर्न म आग्रह गर्न चाहन्छु,’– नेता खनालले भने ।

नेता खनालको उक्त भनाइको जवाफ दिँदै अध्यक्ष नेपालले भने,‘जनताको बहुदलीय जनवादले हाम्रो पार्टीलाई नयाँ उचाइमा पुर्याएको छ । यसलाई हामीले छोड्यौं भने यो पार्टीले आफ्नो इतिहास गुमाउने छ । यो पार्टीको पहिचान समाप्त हुनेछ । २०५९ सालमा पाँचौं महाधिवेशन गर्दा निकै बहस गरेका थियौं । यसको आवश्यकता र महत्वका बारेमा परिचर्चा भएको थियो । यो काम नलाग्ने कुरा हो भनेर पनि बहस भएको थियो । तर, व्यवहारले देखायो जबज अबलम्बन गरेपछि हाम्रो पार्टीले विश्वको कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ सन्देश दियो । .. समाजवादमा जाँदाखेरी, समाजवादी क्रान्ति अबलम्बन गर्दाखेरी जनताको बहुदलीय जनतवादलाई त्याग्न सकिँदैन । त्याग्नुको मतलब एक दलीय तानाशाहीमा जानु हो । हामी बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौं । त्यसको पेटेन्ट राइट हामीसँग छ ।’



प्रतिक्रिया दिनुहोस्