काठमाडौं, १६ माघ । पूर्वमहालेखा परीक्षक एवं एनसेल शेयर खरिद विक्री अध्ययन तथा छानविन समितिका संयोजक टंकमणि शर्माले एनसेल खरिद–विक्री प्रकरण अहिलेकै अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन् ।
आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको प्रतिवेदनमा उक्त खरिद–विक्री प्रकरण यथास्थितिमा स्वीकार गर्न उपयुक्त नहुने सुझाव दिएको बताए । आफूहरुको राय त्यो भएपनि सरकारले गर्ने काम बाँकी रहेको उनको भनाइ छ । साथै, एनसेलले अनुमपति पाएको २५ वर्षमा उक्त शेयर स्वामित्व नेपाल सरकारमा आउने कुराको सुनिश्चितता गर्नुपर्ने सुझाव समेत समेटिएको संयोजक शर्माले बताए ।
‘अहिले जुन खरिद–विक्री सम्झौता भएको छ, त्यो यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएको छैन । सबैलाई चासोको विषय यसको २५ वर्षको अवधि पूरा भएपछि स्वामित्व नेपाल सरकारमा आउँदैन कि भन्ने धेरैमा आशंका भएको हुनाले २०८६ साल भाद्रमा यसको २५ वर्षको अनुमति सकिन्छ । त्यसपछि नेपाल सरकारमा आउने सुनिश्चिता गर्नुपर्छ भन्ने मुख्य कुरा हो,’– उनले भने ।
आफूलाई प्रधानमन्त्रीले उक्त प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेको पनि संयोजक शर्माले बताए । शर्माले विदेशी लगानी भित्र्याउन बहुपक्षीय सुधारको खाँचो रहेको उनले बताए । File Photo/RN