काठमाडौं, १६ माघ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले न्यायलय र न्यायाधीश नियुक्तिमा बलियो जग बसाएको दाबी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पहिला–पहिला न्याय क्षेत्र र न्यायाधीशको नियुक्तिमा विवादै विवाद हुने गरेपछि यस पटक विवादरहित तरिकाबाट न्यायाधीश नियुक्ति गरिएको बताए ।
‘जग कसैले देख्दैन, घर बनेपछि देख्ने हो । राम्रो काम गर्नका लागि जग बसाल्न पर्छ । बसालेर मात्रै हुँदैन, जग बलियो पनि हुनपर्छ । त्यही क्रममा म अहिले छु । अब न्यायलय र न्याय क्षेत्रको नियुक्ति, न्यायधीशहरुको नियुक्तिमा सधैं विवाद हुन्थ्यो । अहिले विवाद छैन,’– उनले भने ।
मन्त्री गुरुङको भनाइमाथि प्रतिवाद गर्दै धमलाले ‘तपाईँले पार्टीको कार्यकतालाई न्यायाधीश बनाउनु भयो । अहिले पनि विवादछ त ? कांग्रेसका कति जना परे ?’ भन्दै प्रश्न गरे ।
मन्त्री गुरुङले आफूले नेताको घरमा ब्रिफकेस बोकेर दौडिनेहरुलाई न्यायाधीश नबनाएको बताए । उनले वकिलहरु कुनै संस्थामा रहन सक्ने भन्दै विचारहिन र विचार शून्य मानिसमा खोज्न नसकिने बताए ।
‘कांग्रेस, कम्युनिष्टको कुरै होईन । मैले पहिलैदेखि नै भनेको थिएँ– नेताको घरमा ब्रिफकेस बोकेर दौडिनेहरुलाई म न्यायाधीश बनाउँदिन । त्यही कुरा मेन्टेन गरेको छु । केही डिएलएमा होलान्, कोही अर्को संस्थामा होलान् ।’ उनले भने, ‘कहीँ न कहीँ वकिलहरु आ–आफ्नो संस्थामा छन् । त्यसैलाई आधार बनाएर यो कांग्रेसको, माओवादीको र एमालेको भन्न हुँदैन । न्यायाधीश बनिसकेका मानिसहरुको पनि आ–आफ्नो विचार त होला नि ? विचार विहीन मान्छे हुनसक्छ ? अहिलेको संसारमा विचार शून्यता खोज्ने होईन । विवेकशील खोज्ने हो ।’