Logo

शेखरले गरे कोशी सरकारले ल्याएको अध्यादेशको विरोध, ‘सुविधा थप्नु अनुपयुक्त’



काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सभाका पदाधिकारीलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताएका छन् ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत आज विराटनगर–७ मा आयोजिक कार्यक्रममा उनले प्रदेश सरकारले जनताका आधारभूत सुविधा थप्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । मुलुकमा लोकतन्त्र नेतालाई मात्र आएको जनतालाई नआएको बताउँदै अराजकताले नागरिकको आवश्यकता परिपूर्तिमा बाधा उत्पन्न हुने बताए ।

नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्ने चर्चा गर्दै पार्टीभित्रका कमीकमजोरीलाई सच्च्याउने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारले सिङ्गिया खोलाको बाढी नियन्त्रण गर्न अस्थायी तटबन्ध र करिडोर निर्माण गरी स्थायी समाधान गर्ने बताए ।

सत्तारुढ गठबन्धन दलका हरेक नेताहरूलाई गाडी सुविधा दिन मिल्ने व्यवस्थासहित कोशी सरकारले अध्यादेश ल्याएको थियो । सरकारले ल्याएको उक्त अध्यादेशको नेकपा (एमाले) ले पनि विरोध गरेको थियो । अध्यादेश तत्काल फिर्ता नलिए कठोर कदम चाल्ने एमाले कोशी प्रदेश संसदीय दलको चेतावनी छ ।

कांग्रेस सभाति शेरबहादुर देउवा र केन्द्रीय सत्ता गठबन्धनसँग विद्रोह गरेर शेखरले कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएका थिए । शेखरले आफैंले बनाएको मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध गरेका हुन् ।
‘एउटा अध्यादेश आयो भन्ने मैले सुनेँ । हामी एकातिर मितव्यिताको कुरा गरिराखेका छौं । देशमा आर्थिक संकट छ भनेर भनिराखेका छौं । अर्कोतिर तपाईँ सुविधाहरु थप्दै हुनुहुन्छ । सुविधाहरु घटाउनुपर्ने ठाउँमा हामी सुविधाहरु थपिराखेको सुनिराखेका छौं । यसले नेपाली कांग्रेसका सबै साथीहरुलाई पीडा हुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्