Logo

कांग्रेस नेता घिमिरेको रविलक्षित अभिव्यक्ति, ‘नयाँ भनिएको दलले गर्भमै भ्रष्टाचार बोकेर आएको रहेछ’



काठमाडौं, १७ माघ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्याम घिमिरेले भ्रष्टाचारबाट कुनै पनि राजनीतिक दल चोखा नरहेको बताएका छन् । कांग्रेसमात्र नभएर नयाँ भनिएको दलहरु पनि गर्भमै भ्रष्टाचार बोकेर आएको उनको टिप्पणी छ ।

आज (बुधबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नयाँ भनिएका दलहरु राजनीतिका आएको एकै वर्षमा सबै प्रकारका भ्रष्टाचारको काण्डमा मुछिइसकेको दाबी गरे । भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वले नेतृत्व गर्नुपर्नेमा सबै दल भ्रष्टाचार लिप्त रहेको उनको आरोप छ ।


‘राजनीतिक नेतृत्वले यसको नेतृत्व गर्नुपर्ने हुन्छ । राजनीतिक नेतृत्वकै जिम्मा हो यो । यो नेतृत्व गर्न कुनै पनि दलको राजनीतिक नेतृत्व तयार छैन । पुरानो पार्टी भन्नुस् या नयाँ । उनीहरु (रास्वपा) राजनीतिमा आएको एक वर्ष भयो । उनीहरु यति छोटो समयमा सबै कुरामा मुछिइसके ।’ उनले भने, ‘अरु दल ठीक भएको भए त कांग्रेस खराब भयो भन्नु ठीक हुन्थ्यो । एमालेमा त्यस्तै छ, माओवादीमा झन खराब छ । हुँदाहुँदा नयाँ दल भनेर आएका रास्वपाहरु गर्भमै भ्रष्टाचार बोकेर आएका रहेछन् ।’

भ्रष्टाचार नियन्त्रण गर्नका लागि राजनीतिक नेतृत्व त्यसको प्रस्थान विन्दुमै नपुगेको उनको टिप्पणी छ । उनले भ्रष्टाचार नियन्त्रणको सुरुवातसमेत नभएको बताए । भ्रष्टाचार नियन्त्रणका लागि दक्षिण एशिया देशहरुमा सबैभन्दा प्रभावकारी कानुन र संयन्त्र नेपालको भएपनि भ्रष्टाचारलाई झनै प्रोत्साहन मिलिरहेको उनले बताए । सरकारी जागिर खाएर भ्रष्टाचारको पूर्ण अनुभव भएको मान्छे अख्तियारमा पुगेका कारण भ्रष्टाचार नियन्त्रणमा आउन नसकेको उनले बताए । उनले अख्तियार र न्यायलयमै सुद्धता नरहेको दाबी गरे ।

‘हामीले गरेका छैन । भ्रष्टाचारलाई प्रोत्साहन नै मिलेको छ । भ्रष्टाचार विरोधी कानुन हाम्रो दक्षिण एशियामै सबैभन्दा बलियो छ । हामी कहाँ अख्तियारको व्यवस्था छ, अख्तियार यति बलियो छ ।’ उनले भने, ‘तर, त्यहाँ बस्ने मान्छे पनि भ्रष्ट छ । सरकारी जागिर खाएर भ्रष्टाचारको पूर्ण अनुभव भएको मान्छे त्यहाँ बसेको छ । न्यायलयमै सुद्धता छैन ।’



प्रतिक्रिया दिनुहोस्