Logo

बाल्मिकी आश्रमलाई निकुञ्जबाट छुट्याउन सांसद नेतृत्वको टोलीको माग, वनमन्त्री महतो सकारात्मक



काठमाडौं, १७ माघ । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने बाल्मिकी आश्रममलाई निकुञ्जबाट अलग गर्न बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले वनमन्त्री वीरेन्द्रकुमार महतोसँग माग गरेको छ । निकुञ्जभित्र बाल्मिकी आश्रम पर्दा ओझेलमा परेको भन्दै उक्त टोलीले वनमन्त्री डा.महतोको ध्यानाकर्षण गराएको हो ।

बागमती प्रदेशका पूर्वपर्यटनमन्त्री श्रेष्ठ, पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेल, डा.जगत भुसाल, प्रभाकर शर्मासहित वन मन्त्रालयमा पुगेर आश्रमलाई निकुञ्जबाट अलग गराउन वनमन्त्री डा.महतोको ध्यानाकर्षण गराएका हुन् ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको बाल्मिकी आश्रम निकुञ्जबाट अलग गरेर प्रवर्द्धन गरिनु पर्ने पूर्वपर्यटनमन्त्री श्रेष्ठको माग छ । पूर्वसचिव ढुंगेलले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर बाल्मिकी आश्रमलाई निकुञ्जबाट अलग गर्न सकिने सुझाव दिए ।

बाल्मिकी आश्रमका बासिन्दाको स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता विषयमा राज्यले विशेष ध्यान दिनु पर्ने उनको भनाइ छ । यो विषयमा पहल गर्ने वनमन्त्री डा.महतोले आश्वासन दिए । उनले जहाँबाट निर्णय गराउनु पर्ने हो त्यहाँबाट गराउन आफू तयार रहेको प्रतिक्रिया दिए ।

बाल्मिकी आश्रमका बासिन्दाका लागि स्वास्थ्य, शिक्षा र पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारलाई घचघच्याउने प्रदेशसभा सदस्य श्रेष्ठले बताए । धार्मिक पर्यटनको हिसाबले बाल्मिकी आश्रम बागमती प्रदेशको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने उनको बुझाई छ ।

अहिले बाल्मिकी आश्रम जान भारतको भूमि भएर जानुपर्छ । गण्डकी प्रदेशबाट भारतको बाल्मिकी नगर हुँदै बागमती प्रदेशस्थित रहेको बाल्मिकी आश्रम जानु पर्ने बाध्यता छ । नेपालको बाल्मिकी आश्रम पुग्न भारतलाई प्रवेश शुल्क तिनुपर्छ । त्यसैले नेपाल तर्फबाटै बाल्मिकी आश्रम जाने बाटो खुला गरिए लाखौं धार्मिक पर्यटक पुग्न सक्ने अवस्था देखिन्छ । त्यसका लागि ऐतिहासिक बाल्मिकी आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास र विस्तार गर्न जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्