Logo

टोखा चण्डेश्वरीमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ सुरु



काठमाडौँ, १७ माघ । काठमाडौँ टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ सुरु भएको छ । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

चालू आवमा स्वीकृत कार्यक्रमअन्तर्गत ३० वर्ष वा सोभन्दा बढी उमेर समूहका नागरिकलाई प्रत्येक हप्ताको बुधबार बिहान ८ देखि १० बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण गरिने अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा.सुजाता नगरकोटीले बताईन् । उनका अनुसार उक्त कार्यक्रम आजदेखि सुरु भएको हो ।

स्वास्थ्य परीक्षणअन्तर्गत विशेषज्ञ चिकित्सकद्वारा रोगसम्बन्धी जानकारी लिने, दम, खोकीसम्बन्धी जाँच, तौल तथा उचाइ र पेटको मोटाइसम्बन्धी जाँच, रक्तचाप, पिसाब परीक्षण, रगत जाँच गरिने डा.नगरकोटीले जानकारी दिईन् ।

हरेक बुधबार दिशामा रगतको सुक्ष्म जाँच, रगतको सम्पूर्ण जाँच, मिर्गौला, कलेजो तथा फोक्सोको जाँच, लिपिड प्रोफाइल, छातिको एक्सरे, अल्ट्रासाउण्ड, इसिजी र परामर्श सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षणका सम्पर्क व्यक्ति ईश्वरीप्रसाद पाठकले स्थायी बसोबास रहेको ठेगाना खुल्ने कागजातकोे प्रतिलिपी लिएर सेवा सेवा लिन सकिने बताए । उनका अनुसार अस्पतालले प्रत्येक हप्ता ३० जनालाई सेवा प्रदान गर्नेछ ।

सेवा लिँदा अस्पतालमा उपस्थित भई नाम दर्ता गर्नुपर्ने, स्वास्थ्य परीक्षणका लागि आउने दिनमा खाली पेट आउनुपर्ने, रोगका बारेमा पहिल्यै पहिचान भएका बिरामीलाई भने उक्त सेवा प्रदान नगरिने अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot