Logo

प्रचण्डले दरबार हत्याकाण्डबारे सल्लाह नगरी बोलेको भन्दै माधवले जनाए असन्तुष्टि



काठमाडौं, १८ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डबारे विचार नपुर्याइ बोलेको टिप्पणी गरेका छन् । आज (बिहिबार) समाजवादी पत्रकार संघ धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त विषयमा प्रचण्डले कसैसँग पनि सल्लाह नगरी बोलेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘अहिले प्रधानमन्त्रीजीले फेरि छानविन गर्ने कुरा गर्नुभयो । यस्ता कुराहरुमा अलि सरसल्लाह गरेर गरे राम्रो हुन्थ्यो । हामीसँग पनि सल्लाह भएको छैन । मैसँग मात्रै गरेको भएपनि हुन्थ्यो नि ! कमसेकम गिरिजा बाबुले मलाई सोध्नुहुन्थ्यो । के गर्ने माधव बाबु भनेर भन्नुहुन्थ्यो । प्रचण्डजी अलि छिटो बोलिहाल्नुहुन्छ,’– उनले. भने ।

प्रधानमन्त्री प्रचण्डले गत माघ १५ गते बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै २०५८ सालमा तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुनेगरी भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका थिए ।

वीरगञ्जमा आयोजित एक सभामा पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डका बारेमा बोलेपछि उक्त विषयमा फेरि बहस सुरु भएको छ । आफ्ना दाजुको वंशनाशपछि राजगद्धीमा बसेका र देशमा राजसंस्थाको अस्तित्व समाप्त भएपछि नारायणहिटीबाट नागार्जुन पुगेका पूर्वराजा यतिका समय मौन रहेर २२ वर्षपछि दरबार हत्याकाण्डका बारेमा सार्वजनिक सभामा बोलेका थिए ।

दरबार हत्याकाण्डपछि तत्कालीन नेकपा (एमाले) को महासचिवको हैसियतले माधव नेपाल पनि छानविन समितिमा थिए । पछि उनलाई एमालेले उक्त समितिबाट फिर्ता बोलाएको थियो ।

कांग्रेस नेता स्वर्गीय गिरिजा प्रसाद कोइरालाले समेत यस्ता विषयमा बोल्नुभन्दा पहिला आफूसँग सल्लाह गर्ने गरेको स्मरण गराउँदै उनले प्रचण्डले किन बोलेका हुन् भन्ने विषयमा आश्चर्य व्यक्त गरे ।

साथै, एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री हुँदै प्रधानमन्त्री भएको हुनाले केही सूचना भएरनै विरेन्द्रको वंशनाश हुने गरी भएको घटनाको दोषी दिपेन्द्र होईनन् भनेर बोलेको हुनुपर्ने उनले बताए । अध्यक्ष नेपालले राजतन्त्र र राजसंस्था मसानघाटको मुर्दा भइसकेको टिप्पणी गर्दै फर्काउने सपना नदेख्नसमेत चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्