Logo

राज्य व्यवस्था समितिमा पीएसको आक्रोश: पञ्चायतले जन्माए-हुर्काएको ब्युरोक्रेसी बहुदलमा पनि बद्लिएन



काठमाडौं,१८ माघ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्रको कार्यशैली परिवर्तन हुन नसकेको भन्दै रोष प्रकट गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पञ्चायतले जन्माए हुर्काएको कर्मचारीतन्त्रका कारण गणतन्त्रमा पनि सहज नभएको भन्दै आक्रोश पोखेका हुन् ।

यो विषय यस अगाडि पनि उठ्ने गरेको र तर, प्रबृति नफेरिएकोमा चिन्ता जनाउँदै उनले भने, ‘यो ब्युरोक्रेसी पञ्चायतले जन्माएको र हुर्काएको ब्युरोक्रेसी हो । बहुदलमा पनि बदलिएन, अहिले पनि बदलिएको छैन । काम गर्ने तौरतरिका उस्तै छ, शैली, आचरण र व्यवहार उस्तै छ ।’

गण्डकी प्रदेशका संस्थापक पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले सिंहदरवारको एउटा कोठामा बसेर कानून बनाउने प्रक्रिया रहेको भन्दै त्यसलाई तोड्नुपर्ने बताएका हुन् ।

‘विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति लिएपछि मन्त्रालयमा शाखा अधिकृत, उपसचिव, सहसचिवको कोठा कोठा हुँदै आउने होइन,’ उनी थप्छन्, ‘सिंहदरबारको एउटा कोठामा बसेको कर्मचारीले मुलुकको समस्या के हो चिन्न सक्दैन् । तर, हाम्रो विधि र प्रक्रिया यही छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot