Logo

नेपालमै पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गर्न सफल चिकित्सकको टिमलाई ओलीले दिए बधाईं



काठमाडौं,१८ माघ । नेपालमै कलेजोको सफल प्रत्यारोपण भएपछि उक्त टिममा रहेका सदस्यहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाइ दिएका छन् । आज सामाजिक सञ्जालमा ओलीले उक्त टिमका सम्पूर्ण सदस्यलाई बधाइ तथा धन्यवाद दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको थियो ।

अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुख प्रा.डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत पुस २७ गते नेपाली चिकित्सकको टोलीले ४१ वर्षीय पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको हो । नुवाकोटका ४१ वर्षीय पुरुषलाई उनकी ४० वर्षीय पत्नीले कलेजो दान गरेपछि प्रत्यारोपण गरिएको थियो।

उक्त टोलीलाई बधाईं दिँदै ओलीले लेखेका छन् ‘त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकको टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने सफलता पाएको छ। ८ वर्ष अगाडि नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि प्रत्यारोपणको लागि विदेशी डाक्टर आउनु पर्ने वाध्यता थियो। कलेजो प्रत्यारोपणको नेतृत्व गर्नुहुने प्राध्यापक डा। रमेशसिंह भण्डारीलाई आज बिहान फोन गरेर बधाई दिएँ। उहाँहरूले नुवाकोटका ४१ वर्षीय बिरामीलाई बिरामीकी श्रीमतीको कलेजो प्रत्यारोपण गर्नु भएको थियो । प्राध्यापक डा.भण्डारीले आज बताउनु भए अनुसार कलेजो प्रत्यारोपित बिरामीको श्रीमान श्रीमती नै आज डिस्चार्ज भैसक्नु भएको छ। डा. भण्डारी र उहाँको टिमलाई यस सफलताको लागि बधाई’।



प्रतिक्रिया दिनुहोस्