Logo

एमाले काठमाडौंद्वारा टुँडिखेलमा ‘युवा महोत्सव’ आयोजना



काठमाडौँ, १८ माघ । ‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउने लक्ष्यका साथ नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले यही माघ २० गते काठमाडौँको टुँडिखेलमा ‘युवा महोत्सव’ आयोजना गर्ने भएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवा शक्तिलाई समाज रुपान्तरणका दिशामा अभिप्रेरित गराउन यस प्रकारका महोत्सव काठमाडौँपछि देशव्यापीरुपमा आयोजना गर्ने सो कमिटीले जनाएको छ । उक्त महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा हरेक क्षेत्रमा युवापुस्ताको अनिवार्य सहभागितालाई अभियानकै रूपमा अगाडि बढाइने जानकारी दिइयो । एमालेका पोलिटब्युरो सदस्य एवं काठमाडौँ प्रमुख आनन्द पोखरेलले विश्वव्यापीकरणको वर्तमान स्थितिमा प्रविधिको प्रयोग र दुरुपयोगजस्ता विषयमा पनि युवालाई सजग गराइने बताए ।

एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले मुलुकको विद्यमान जटिल अवस्थालाई चिर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सृदृढीकरण गर्न तथा राष्ट्रियता एकता र स्वाधीनताको रक्षार्थ युवाका बीच पार्टीलाई निरन्तर परिचालन गरिने बताए । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने महोत्वसमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्