काठमाडौं,१९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्ड ले प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री ओलीलाई आफ्नो सरकारी निवासमा बोलाएर भेटवार्ता गरेका हुन् ।
दुई नेताबीचको भेटमा सोमबारबाट सुरु हुने संसद्को हिउँदै अधिवेशन र हिउँदे अधिवेशनबाट पास गर्ने विधेयकको बारेमा छलफल भएको थियो । सो भेटमा प्रचण्डले ओलीलाई सत्य निरुपण तथा मेलमिलाप सम्बन्धीको टीआरसी विधेय यसै अधिवेशनबाट पास गर्नेगरी अगाडि बढाउन लागिएको भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।
भेटपछि ओलीले शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको जानकारी पत्रकारहरुलाई दिए । समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा छलफल भएको बताउँदै ओलीले भने, ‘खास यो विधेयकमा छलफल भइराख्या छ समितिमा, त्यसलाई राम्ररी मिलाएर छिटै टुंग्याऔं भन्ने विषयमा छलफल भयो ।’
प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयक जतिसक्दो छिटो टुंग्याउन खोजपनि अध्यक्ष ओलीका अनुसार एमालेले एमालेले लिएको अडान कायमै रहेको छ । ‘हाम्रो अडान यथावत् नै छ’, अध्यक्ष ओलीले भने, ‘बहुमतले किन पास गर्नुपर्यो ? राम्रो बनाएर सहमतिले पास गरे भैगो नि !’
सरकारले सोमबारबाट सुरु हुने हिउँदे अधिवेशनमा ७३ वटा कानून निर्माण गर्न मस्यौदा बनाउँदैछ । हाल संसद्को कानून न्याय तथा मानव अधिकार समितिको उपसमितिमा बिचाराधीन अवस्थामा रहेको टीआरसी विधेयक लामो समयदेखि सत्तापक्ष र प्रतिपक्षी दलबीच कुरा नमिल्दा अघि बढ्न सकेको छैन् ।