Logo

गुलावजंग र यमलालाई बोलाएर ओलीले भने: केन्द्रको निर्णय नमान्ने एमाले हुन सक्दैन



काठमाडौं, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशमा देखिएका पार्टीको विवादबारे छलफल थालेका छन् । बिहीबार कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाह, दैलेख इन्चार्ज यमलाल कँडेल र पार्टी सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलाई बोलाएर ओलीले छलफल गरेका हुन् ।

कर्णालीमा गत प्रदेश अधिवेशनदेखि नै विवाद देखिँदै आएको छ । ओलीले प्रदेशको अधिवेशन सर्वसम्मतरुपमा गर्न निर्देदश दिएपनि त्यसलाई काउन्टर दिँदै निर्वाचन भएको थियो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली कर्णाली प्रदेशमा कालिकोटका मीनबहादुर शाहीलाई अध्यक्ष बनाउन चाहान्थे । त्यसैअनुसार गर्न निर्देशन पनि दिएका थिए । तर, उनको निर्देशनलाई अवज्ञा गर्दै भएको निर्वाचनमा मीनबहादुरलाई हराउँदै सल्यानका गुलावजंश शाह अध्यक्ष बनेका थिए ।

प्रदेश अधिवेशनमा देखिएको विवाद हालसम्म पनि मिलेको छैन् । विवाद लम्बिदै जाँदा पार्टीमा थप सामस्या आउँने देखेर ओलीले आफ्नै सक्रियतामा छलफल थालेका हुन् । बिहीबार भएको छलफलमा ओलीले पार्टीको पोलिटब्यूरो सदस्य रहिसकेको व्यक्ति प्रदेश अध्यक्ष बनेको भन्दै असन्तुष्टि जनाएका थिए ।

अध्यक्ष ओलीले कर्णालीमा प्रदेश अधिवेशनकै समयदेखि समस्या देखिन थालेको बताएका छन् । ‘पोलिटब्यूरो सदस्यले तल (प्रदेश अध्यक्ष बन्नेगरी) झर्नु हुँदैन भनेको थिएँ’, ओलीले नेताहरुसँग भने, ‘लक्ष्मी पोखरेल, मोहन बानियाँ र भैरवसुन्दर श्रेष्ठले भेट्न आएर हामीमध्ये एक जनाले नेतृत्व गर्छौ भन्दा मैले हुन्न भनेको हो ।’

कर्णालीका नेतासँग ओलीले केन्द्रको नेतृत्वले भनेको नमान्ने व्यक्ति एमाले हुन् नसक्ने प्रष्ट पार्दै आगामी दिनमा यस्तो कुनैपनि गल्ती नगर्न निर्देशन दिएको छलफलमा सहभागी एक नेताले बताए । ‘पार्टी केन्द्रको निर्णय नमान्ने एमाले हुन सक्दैन’, ओलीको भनाई उद्धत गर्दै ती नेताले भने, ‘हिजो मैले पोलिटब्यूरो सदस्य भइसकेका नेतालाई प्रदेशमा नजान भनेको हुँ । तर, साथीहरू ओलीलाई देखाइदिने भनेर लागे । ओली को हो र ? भन्नेहरू देखिए ।’

एकपछि अर्को विवाद बढ्दै गएपछि ओलीले कर्णालीका केन्द्रीय सदस्यहरूलाई काठमाडौँ बोलाएका हुन् । छलफल शुक्रबार पनि जारी रहने सहभागी नेताहरूले बताएका छन् । 



प्रतिक्रिया दिनुहोस्