Logo

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा कसरी हडपे अरुण चौधरीले ? यसो भन्छ सीआईबी (भिडिओसहित)



काठमाडौं, १९ माघ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको निर्णय बिनानै सञ्चालक समितिले बिक्री गरेको पाइएको बताएको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गरी सीआईबीले संचालक समितिले कानून बिपरीत आफूलाई फाईदा र सरकारलाई हानी नोक्सानी गर्ने उद्देश्यले उक्त कार्य गरेको अनुसन्धानबाट खुल्न आएको बताएको हो ।

सीआईबीका अनुसार बाँसबारी छालाजुत्ता कारखानाको नाममा डिल्लीबजार मालापोत कार्यालयमा १८ रोपनी ३ आना २ पैसा जग्गा थियो । सरकारको निर्णयविना (तत्कालीन श्री ५ को सरकार) सञ्चालक समितिलाई उक्त जग्गा बेचबिखन गर्ने कुनै अधिकार नरहेको अवस्थामा आफूलाई फाइदा र सरकारलाई घाटा हुने गरी उक्त जग्गा हिनामिना भएको सीआईबीले बताएको छ । सीआईबीले तीन महिना लामो अनुसन्धानपछि अरुण चौधरीको संलग्नता पुष्टि हुने आधार प्रष्ट भएरनै उनलाई पक्राउ गरिएको बताएको छ ।

सीआईबीका अनुसार २०४३ भदौ १० गते बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गा मध्येको १० रोपनी जग्गाजग्गा अरुण चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवयेर लिमिटेडको नाममा हक हस्तान्तरण गरिएको थियो ।

कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापाले अरुण चौधरीसमेत संचालक रहेको च्याम्पियन फुटवयेर लि. नामक कम्पनी खडा गरेका थिए । सो कम्पनीको जारी पूँजी ५० लाख को २५ प्रतिशत शेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेस्ता कायम रहेको जिल्ला काठमाडौ साविक नगर २२ (छ) कित्ता नम्बर ५० को १८ रोपनी ३ आना २ पैसा जग्गा मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको पाइएको सिआईबीले जनाएको छ ।

उक्त जग्गा अडपेर सरकारलाई हानी नोक्सानी पुर्याएको अभियोगमा तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापा, तत्कालीन च्याम्पियन फुटवयेर लि.का शेयर धनी तथा सञ्चालक अरुण कुमार चौधरी र सिजि चांदवाग रेसिडेन्सी प्रा. लि.का सञ्चालकलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्