Logo

रास्वपाका सांसदहरु मेलम्ची खानेपानी आयोजना स्थलमा खाली घैला लिएर जाने



काठमाडौँ, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ । रास्वपा संसदीय दलको आजको बैठकले यही माघ २१ गते मेलम्ची बजारदेखि दबाबमूलक कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो ।

सो पार्टीका सचेतक निशा डाँगीले दबाबमुलक कार्यक्रम अनुसार मेलम्ची बजारबाट आयोजनास्थल पुगी घैलामा पानी बोकेर ल्याउने निर्णय भएको बताईन् । “दबाब कार्यक्रम अनुसार मेलम्ची बजारमा २१ जना सांसद सबै भेला भएर खाली घैलो लिएर आयोजनास्थल जाने र पानी भरेर फर्किने कार्यक्रम तय भएको छ,”– सचेतक डाँगीले भनिन् ।

रास्वपाले हालै पूर्वाधारका अलपत्र रहेका आयोजनाको दबाब यात्रा गर्ने निर्णय गरेको छ । जसअनुसार पार्टीले यही माघ २१ गतेदेखि चैत २१ गतेसम्म २१ वटा आयोजनामा दबाबमुलक कार्यक्रम गर्दैछ ।

सो पार्टीका सांसद बिनिता कठायतले सदन र संसदीय समितिको बैठक प्रभावित नहुने गरी पार्टीले सो कार्यक्रम गर्ने बताईन् । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा गैरसरकारी विधेयकको तयारीबारे समेत छलफल भएको थियो ।

सचेतक डाँगीका अनुसार पूर्वनिधारित मुद्दाअनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको तयारी र पार्टीका सासदलाई विधेयकसम्बन्धी गरेको तयारीका विषयमा पनि आजको बैठकमा छलफल भएको थियो । “गैरसरकारी विधेयक दर्ता गर्नुमात्र ठूलो कुरा होइन, त्यसलाई पास हुने गरी काम गर्ने विषयमा छलफल भयो । मुख्यत पाँच गैरसरकारी विधेयकको तयारी गरिरहेका छौँ, त्यसबारे छिट्टै सार्वजनिक गर्नेछौ,”– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्