Logo

२०७२ सालको संविधान खारेजी गरी पूर्वराजासँग सहकार्य गर्ने विभिन्न दल र संघ संस्थाहरुको उद्घोष



काठमाडौं, २० माघ । ‘राष्ट्रिय एकताका लागि हाम्रो ऐक्यवाद्धता’ भन्ने नाराका साथ विभिन्न राजनीतिक दल र संघ/संस्थाहरुले एक ठाउँमा उभिने घोषणा गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विभिन्न दल र संघ÷संस्थाका प्रतिनिधिहरुले अब देशमा राजा र दलहरु मिलेर निकास दिनका लागि आफूहरु एकवद्ध भएको घोषणा गरेका हुन् ।

बी.पी. कांग्रेस, राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन, मितेरी पार्टी नेपाल, संयुक्त जनआन्दोलन मोर्चा, नेपाल समाजवादी कांग्रेस, राष्ट्रिय एकता पार्टी, राष्ट्रिय समाज सुधार संस्था, राष्ट्रवादी राजनीतिक जनजागरण अभियान, राष्ट्रप्रेमी समृद्ध नेवा अभियान र स्वतन्त्र नागरिक समाजले देशलाई निकास दिन राजासंस्थाको एजेण्डासहित एक ठाउँमा उभिने उद्घोष गरेका हुन् ।

नेपालको संविधान (२०७२) नेपाली जनताको अपनत्व सुनिश्चितताका लागि नभएको उनीहरुको ठहर छ । उक्त संविधानले वाह्य शक्तिको हस्तक्षेपलाई स्थायित्व दिएको दाबी गर्दै २०४७ सालको संविधान पुनः ब्युँताउने उनीहरुको चेतावनी छ ।

बीपी कांग्रेसका अध्यक्ष हरिबोल भट्टराईले मुलुक अत्यन्त संवेदनशील अवस्थामा पुगेको बताए । सत्ताधारी दलहरुले पनि यो कुरा स्वीकार गर्न थालिसकेका उनको भनाइ छ । साथै, युवालाई रोजगारी र उत्पादनमा लगाउनुको साटो सरकारले दैनिक ठूलोमात्रामा विदेशमा श्रमिक बेचिरहेको भन्दै उनले अहिलेको ब्यवस्था असफल भइरहेको बताए । विदेशबाट युवाहरुले पठाएको रेमिट्यान्सले देशमा भ्रष्टाचारी पालिरहन नसकिने भन्दै उनले यो व्यो व्यवस्था अन्त्य हुनुपर्ने बताए । अब २०४७ सालको संविधानमा फर्किएर २०६२÷०६३ मा भएको गल्ती सच्याउन आवश्यक रहेको उनले बताए ।
‘२०४७ सालको संविधानमा फर्किएर कोर्ष करेक्सनको बाटोमा जाने, अथवा २०७२ सालको संविधानलाई फ्याकेर हामी कहाँबाट सुरुवात गर्ने भन्ने व्यापक छलफल गर्न आवश्यक छ । २०६२/६३ मा गलत गर्यौं हामीले । यसमा करेक्सन गर्नुपर्छ,’– उनले भने ।

मुलुक डुब्ने अबस्थामा पुगेको र विदेशीहरुको क्रिडास्थल बन्दै गएको अवस्थामा आफूहरुले २०७२ सालको संविधान खारेजी र त्यसपछि नयाँ संविधान निर्माणको बाटोमा जान राष्ट्रिय एकताको लागि ऐक्यवद्धता भन्ने कार्यक्रम लिएर आएको बताए ।

त्यसैगरी राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका अध्यक्ष किशोरी महतोले २०७२ सालको संविधान आफूहरुले मात्रै नभएर कसैले पनि मन नपराएको बताए । नेपालको संविधान खारेजीको लागि आफूहरु एक ठाउँमा उभिएको उनको उद्घोष छ । ‘२०७२ सालको संविधान कामै नलाग्ने पत्रु भएको हुनाले, कसैले नरुचाएको हुनाले, हामीले मात्रै होईन । यो संविधान अब राष्ट्र र जनताको लागि काम छैन भनेर यसको खारेजीको लागि हामी एक ठाउँमा उभिएका छौं,’– उनले भने ।

उनले २०७२ सालको संविधान ल्याउन भूमिका खोल्नेहरुलाई महापापीको संज्ञा दिए । उनीहरुले एक दिन श्रीलङ्काका नेताहरुले जस्तै देश छोडेर भाग्नुपर्ने उनको दाबी छ । नेपाली भएर बाँच्नका लागि २०४७ सालको संविधानमा फर्किन उनले सबैलाई आह्वान गरे ।

कार्यक्रममा नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौला, संयुक्त जनआन्दोलन मोर्चाका संयोजक शेखरजंग रायमाझी, राष्ट्रप्रेमी समृद्ध नेवा अभियानका संयोजक सुरेश बज्राचार्य, राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरदचन्द्र दाहाल, मितेरी पार्टी नेपालका अध्यक्ष धनेन्द्र बहादुर बस्नेत, संयुक्त जनआन्दोलन मोर्चाका संयोजक शोभाराम थापा र राष्ट्रवादी राजनीतिक जनजागरण अभियानका संयोजक कपिलमान खड्गीले नेपालको संविधान खारेजी नै देशलाई निकास दिने विकल्प भएको धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्