Logo

ज्ञानेन्द्रलाई एमाले नेता बस्नेतको सुझावः ‘राजनीति गर्न मन भए दल खोल्नुस्’



काठमाडौं, २१ माघ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन भए दल खोल्न सुझाव दिएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा प्रतिक्रिया लिनका लागि राखेको अन्तिरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले राजनीति गर्ने भए आफू समर्थकहरुलाई जम्मा गरेर दल खोल्न भनेका हुन् ।

उनले. राजा ल्याएर देशमा समृद्धि आउँछ भन्नु कोरा सपनामात्रै भएको उनले बताए । नेता बस्नेतले लोकतन्त्रको विकल्प राजतन्त्र नभएर केवल उन्नत लोकतन्ध भएको दाबी गरे । ‘राजनीति गर्न रहर लागेको छ भने हाम्रो संविधानले बडो स्पष्ट व्याख्या गर्दिएको छ । ज्ञानेन्द्रकै नाममा पार्टी खोले भयो । ज्ञानेन्द्रलाई समर्थन गर्ने को–को हुन् ? ती सबै तत्वहरुलाई एक ठाउँमा समेटे भयो ।’ उनले भने, ‘आगामी निर्वाचनमा चुनाव लडे भइगयो । होईन भने दुई/चार जना व्यक्ति र पार्टीलाई उचालेर फेरि शक्तिमा आउन सक्छु भन्ने सपना ज्ञानेन्द्रले बोकेका हुन् भने ज्ञानेन्द्र त ओरिजिनल राजा हुँदै होईनन् । ओरिजिनल राजा वीरेन्द्र र उनको वंश नाश गरिहालियो ।’

साथै, दरबार हत्याकाण्ड छानविनको प्रश्न उठिरहेको भन्दै उनले प्रचण्डले छानविन गर्छन् भन्ने आफूलाई नलागेको बताए । विरेन्द्रको वंशनाश भएपछि राजा बनाइदेऊ भन्दै माधव नेपालले ज्ञानेन्द्रको पाउमा दाम चढाएकाले उनीमाथि नैतिकताको प्रश्न उठेको उनले बताए । आफूहरुले पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गरिनुपर्छ भन्ने मान्यता नबोकेको उनको भनाइ छ । आफ्ना समर्थकहरुलाई जम्मा गरेर दल खोल्न उनले पूर्वराजालाई सुझाव दिए । ‘पूर्वराजालाई कारबाही गर्नुपर्छ भन्ने मान्यता एमाले बोकेको छैन । ज्ञानेन्द्र अहिले पनि पार्टी खोलेर राजनीतिमा आउन्, राजेन्द्र लिङ्देनदेखि रविन्द्र मिश्रहरु प्रकाशचन्द्र लोहनीहरुलाई मिलाएर को–को अपराधिक प्रवृत्तिका मानिसहरु छन्, तिनको नाम लिन पनि झ्याउ नै लाग्छ । उनको पार्टी खुलोस्, शुभकामना छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्