Logo

एकीकृत समाजवादीको विवाद उत्कर्षमा, झलनाथभन्दा जबजनै बोक्ने मुडमा माधव



काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) मा जनताको बहुदलीय जनवादको विषयलाई लिएर केही समयदेखि विवाद सुरु भएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच जबजलाई लिएर विवाद चुलिएको हो । पार्टी अध्यक्ष नेपाल जबज छाड्न नसकिने बताउँदै आएका छन् । सम्मानित नेता खनाले जबज बोकेर समाजवादको मार्ग पहिल्याउन नसकिने बताउँछन् ।

उसो त जननेता मदन भण्डारीले (जबज) प्रतिपादन गरिरहेका बेला झलनाथले त्यसलाई दक्षप्रजापतिको टाउकोको संज्ञा दिएका थिए । जबज शरीर मानिसको र टाउको चाँहि बोकाको भएजस्तै अमिल्दो भएको झनाथको विश्लेषण थियो ।

गत हप्ता सम्पन्न नेकपा (एस) को केन्द्रीय परिषद्को बैठकमा पनि अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच जबजलाई लिएर चर्काचर्की नै परेको थियो । बंैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले भनेका थिए, ‘कहिले हामी जबज भन्छौं, कहिले हामी समाजवाद पनि भन्छौं । कता जाने त ? जबजै तपाईँ भन्नुृहुन्छ भने त ठूलो जबजतिर किन नजाने भन्छ नि मान्छेले । ठूलो जबज त एमाले छ । हामीले जबज भन्ने हो भने त हामीले भनेको सुन्नेभन्दा उता केपीले भनेको बढ्ता सुन्छ । त्यो खतरा हुन्छ । हामी क्लियर हुनुपर्छ ।’

नेता खनालको उक्त भनाइप्रति अध्यक्ष नेपालको जवाफ थियो, ‘जनताको बहुदलीय जनवादले हाम्रो पार्टीलाई नयाँ उचाइमा पुर्याएको छ । यसलाई हामीले छोड्यौं भने यो पार्टीले आफ्नो इतिहास गुमाउने छ ।…समाजवादमा जाँदाखेरी, समाजवादी क्रान्ति अबलम्बन गर्दाखेरी जनताको बहुदलीय जनतवादलाई त्याग्न सकिँदैन । त्याग्नुको मतलब एक दलीय तानाशाहीमा जानु हो । हामी बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौं । त्यसको पेटेन्ट राइट हामीसँग छ ।’

आज (आइतबार) पार्टी उपाध्यक्ष तथा कृषि मन्त्री डा.बेदुराम भुसालद्वारा लिखित ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ नामक पुस्तक विमोचन कार्यक्रममा पनि अध्यक्ष नेपालले सम्मानित नेता खनालको उक्त अभिव्यक्तिप्रति आक्रोश ब्यक्त गरे । उनले नेता खनालले विचारनै परित्याग गर्न खोजेको समेत टिप्पणी गरे ।

‘विचार नै परित्याग गरेर हिजो पनि जबजलाई दक्षप्रजाततिको टाउको भन्ने, आजपनि यसलाई समाप्त पार्न लाग्ने त्यो विचारलाई किमार्थ ठीक भन्न सकिँदैन,’– उनले भने ।

अब पनि जबजलाई स्वीकार गरे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग किन नमिल्ने भन्ने सम्मानित नेता खनालको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्