काठमाडौं,२२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक (टीआरसी) सहमतिमै टुंग्याउने पक्षमा देखिएका छन् ।
नेकपा माओवादी केन्द्रको सिंहदरबारमा आज बिहान बसेको संसदीय दलको बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख गरेका हुन्।
उनले भने “सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्ग्याउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।”
बैठकमा सांसदहरुले चालु अधिवेशनमै सङ्क्रमणकालीन विषय टुङ्ग्याइनुपर्नेमा प्रचण्डले जोड दिएका थिए । बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेट रोजगारी सिर्जना र कृषि क्षेत्रमा केन्द्रित गर्न सुझाव दिए ।
टीआरसी विधेयक लामो समयदेखि बिचाराधीन अवस्थामा रहेको छ । सरकारले तत्कालै यो विधेयक टुंग्याउन चाहेपनि विभिन्न प्रावधान संसोधन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडाना कारण विधेयक अगाडि बढ्न सकेको छैन् । प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरुसँग पनि पटक पटक छलफल गरेका छन् । तर, निष्कर्ष निस्किएको छैन् ।