काठमाडौं,२२ माघ । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ कामभन्दा धेरै हल्लामा लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
आजबाट सुरु भएको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभाका संसदीय दलका नेतासमेत रहेका रायमाझीले गृहमन्त्री श्रेष्ठले हल्ला गरेअनुसार काम गर्न नसकेको बताए । उनले चर्चाकै कुरा गर्नेहो भने पञ्चायतकालमा नानीमैंया दाहालको पनि कम चर्चा नभएको उल्लेख गर्दै स्टन्टमा नलाग्न मन्त्री श्रेष्ठलाई चेतावनी दिएका छन् ।
रायमाझीले अहिले सरकारमा रहेका मन्त्रीहरूले कामभन्दा धेरै हल्ला धेरै गर्न थालेको बताएका छन्।
उनले स्वास्थ्यमन्त्री मोहन बस्नेतबारे अनेक विवाद सुनेको बताए। ‘स्वास्थ्यमन्त्रीको पनि अनेक विवाद आएको छ। गृहमन्त्री पनि अचेल कामभन्दा बढी हल्ला गर्न थाले’, उनले भने, ‘चर्चा त पञ्चायतकालमा नानीमैया दाहालको पनि थियो।’
‘मन्त्रीहरूको सहयोग पाएको छैन भनिरहनु भएको छ प्रधानमन्त्रीले’, उनले भने, ‘प्रधानमन्त्री उकालो चढ्न खोज्ने मन्त्रीले पछाडिबाट दौरा तान्न खोजे अब बन्ने सरकार पनि सफल हुँदैनन्।’
तस्बिर मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल