Logo

एमालेले भन्यो: राष्ट्रपतिज्यू संसद्को महासचिव नियुक्तिमा तपाईंको चलखेल किन ?



काठमाडौं,२२ माघ । संघीय संसद्को महासचिव नियुक्तिको विषयले संसद्मा पनि प्रवेश पाएको छ ।

आजबाट सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा बोल्दै नेकपा एमालेका सांसद देवेन्द्र दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक चलखेल गरेर महासचिव नियुक्तिको प्रक्रिया लम्ब्याएको दाबी गरेका छन् । उनले राष्ट्रपति जस्तो संवैधानिक संस्थाले आफूलाई विवादमा मुछ्न नहुने भन्दै तत्काल महासचिवको नियुक्ति प्रक्रिया थाल्न अनुरोध गरे ।

‘यो अधिवशेन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? हामीले कस्तो राष्ट्रपति पायौं ? निकै लामो अध्ययन चिन्तन गर्ने, राष्ट्रपतिज्यू तपाईंको अध्ययन चिन्तन अब बढी भएन र ? एउटा संसदको महासचिवमा तपाईको चलखेल किन ?’ उनले प्रश्न गरे ।

तत्कालीन महासचिव डा.भरतराज गौतमले राजीनामा दिएपछि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाका सचिव पद्यप्रसाद पाण्डेको नाम सिफारिस गरेका थिए । तर, सिफारिस भएको २ महिना हुन लाग्दा पनि राष्ट्रपति पौडेलले नियुक्ति प्रक्रिया तामेलीमा राखेपछि एमालेले आपत्रि जनाएको हो ।

हाल संसद्को कार्यबाहक महासचिवको जिम्मेवारी पाण्डेले नै सम्हाल्दै आएका छन् । संसद् बैठक बस्नुअघि राष्ट्रपतिले नयाँ महासचिव नियुक्त गर्ने आशमा रहेका सभामुख र अध्यक्षसमेत राष्ट्रपतिसँग असन्तुष्ट रहेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्