काठमाडौं,२३ माघ । पूर्वमन्त्री, संविधानसभा सदस्य पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीको निधनप्रति सभामुख देवराज घिमिरेले दुख व्यक्त गरेका छन् ।
बुढाथोकीको निधनप्रति शोक व्यक्त गर्दै घिमिरेले भनेका छन् ‘नेपालको लोकतान्त्रिक आन्दोलनका अग्लो राजनीतिज्ञ, झापाली राजनीतिको स्थापित तथा लोकप्रिय नेता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, मेरो मित्र केशवकुमार बुढाथोकीको गएराति विराटनगरमा भएको निधनले मर्माहत बनाएको छ । दुखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु’ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा गएराती निधन भएको थियो । अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए । उनकी पत्नी गीता बुढाथोकी, दुई छोरा आनन्द र शिशिर एवं दुई छोरी ममता र कविता बुढाथोकी छन् ।
कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका उनको गत राति ११ः३० बजे उपचारकै क्रममा विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको हो ।