काठमाडौं, २३ माघ । प्रगतिशील नेपाली समाज समिति (भारत) ले भारतमा बसोबास गरिरहेका नेपालीहरुलाई निः शुल्क शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधाहरु उपलब्ध हुनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापन पत्र बुझाएको छ । प्रगतिशील नेपाली समाजका अध्यक्ष लोकेन्द्र सेर्पाली, महासचिव राजेश रावल, भारतका प्रतिनिधिहरु प्रकाश जैगडी, प्रभाकर ढगेले प्रधामन्त्री प्रचण्डलाई भेटेर भारतमा रहेका नेपालीहरुको विभिन्न समस्याबारे ८ बुँदे ध्यानाकार्षण पत्र बुझाएका हुन् ।
भारतमा रहेका नेपालीहरुलाई निःशुल्क शिक्षा, स्वास्थ्यलगायत निः शुल्क आवास, रोजगार, उद्योग बन्द व्यापार, आधार कार्ड व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । त्यसैगरी भारतको राज्य गोवा र काठमाडौंबीच हवाइ सेवा र पर्यटन व्यावसाय गर्न सम्झौता हुनुपर्ने उनीहरुको सुझाव छ ।
त्यसैगरी भारतमा बस्ने नेपालीहरुलाई पर्यटन प्रबर्द्धन दूतको रूपमा नेपाल सरकारले नियुक्ति दिनुपर्ने उनीहरुको माग छ । नेपाली ड्राइभर लाइसेन्स भारतमा पनि मान्यता पाउनु पहल गर्न पनि सरकारको न्यानाकार्षण गराइएको छ । नेपाली नम्बर प्लेट गाडी सजिलै आवत–जावत गर्न पाउने व्यवस्था मिलाउन र भारतमा अध्यन गर्ने नेपाली विद्यार्थीहरुलाई अध्यनपछि रोजगारीको व्यवस्था मिलाइदिन पहल गर्न समेत ज्ञापन पत्रमार्फत ध्यानाकार्षण गराइएको छ ।