Logo

माओवादीको नेतृत्व तह सबै खाओवादी, प्रचण्ड ढेडु खाओवादी बनेः पूर्वमन्त्री किराती



काठमाडौं, २३ माघ । पूर्वमाओवादी नेता एवं मन्त्री गोपाल किरातीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत गत माघ २० गते ललितपुरस्थित् किरात याक्थुङ चुम्लुङको भवनमा बसेको बैठकले कोशी प्रदेश नामाङ्कन खारेजी र पहिचानसहितको समाजवादका लागि समिति गठन भएको जानकारी गराइएको हो ।

ब्राम्हणवादी सत्ताको अन्त्यका लागि तेस्रो जनआन्दोलन तयारीमा केन्द्रित रहँदै दलाल पुँजीवाद र भ्रष्टाचारी शासनलाई ध्वस्त पारेर पहिचान सुनिश्चित्ताको समाजवादी व्यवस्था स्थापना गर्ने समितिको राजनीतिक लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, माओवादी, नेपाली कांग्रेस, नेकपा .एमाले० सहितका आलोपालो दल र शासकहरु नै प्रतिक्रान्तिको कारक तत्व भएको समितिले उल्लेख गरेको छ । कोशीलगायत बागमती, गण्डकी, कर्णालीजस्ता प्रदेशका नामहरु खारेज गरी पहिचानको आधारमा नामाङ्कन गरिनुपर्ने उनीहरुको माग छ ।

समितिका संयोजक गोपाल किरातीले ब्राम्हणवादी सत्ताको अन्त्य र पहिचानसहित समाजवादका लागि तेस्रो जनआन्दोलनको आवश्यकत्ता परेको बताए । उनले ब्राम्हण जनता र ब्राम्हणवादी सत्ता फरक भएको दाबी गरे ।

माओवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनेका किरातीले अहिले माओवादीका कार्यकर्ता, घाईते, सहिद परिवारको तहमा माओवादी विचार, भावना र संस्कार जिवितै रहेपनि माओवादी नेतृत्व तह खाओवादी बनेको टिप्पणी गरे । माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कडा शब्दमा टिप्पणी गर्दै किरातीले उनी ढेडू खाओवादी बनेको बताए ।

उनले कांग्रेस, माओवादी र एमालेको रवैया प्रतिक्राति र ब्राम्हणवादी भएको आरोप लगाए । आफूहरले तीन ठूला दललाई एकपटक सच्चिनुस् भनिरहेको र अन्यथा दलित, श्रमिक तथा विस्थापितवर्ग, लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरुको तेस्रो जनआन्दोलनको ज्वारभाटाले ध्वस्त पारिदिने उनले चेतावनीसमेत दिए ।



प्रतिक्रिया दिनुहोस्