काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं पूर्व सभामुख ओनसरी घर्तीले राजनीतिक नेतृत्वहरुले अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएकी छन् । आज (मंगलबार) राष्ट्रिय सभागृहमा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै नेतृ घर्तीले देशको राजनीति संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार चल्न नसकेको टिप्पणी गरिन् । उनले अहिलेका शीर्ष नेताहरु आफ्नो जीवनकालभर पार्टीको अध्यक्ष र प्रधानमन्त्री बन्न लागि परेको भन्दै कडा शब्दमा आलोचना गरिन् ।
‘हामी साच्चिकै संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार अगाडि बढिराखेका छौं भने हामीले सिर्जनात्मक ढंगले दिएको सुझाव लिन सक्नुपर्छ । आज युवाहरुले धेरै ठूलो आवाज उठाइरहनु भएको छ । के कोही व्यक्ति नमर्दासम्म पार्टीको अध्यक्ष हुने हो ?’ प्रश्न गर्दै उनले भनिन्, ‘के कोही नमर्दासम्म यो देशको प्रधानमन्त्री भइरहने हो ? या के हो ? यदि त्यो हो भने युवाहरुको निकास के हो ? राजनीतिक दलभित्र सक्रिय युवाहरुको पनि यो प्रश्न छ ।’
आजको स्थितिलाई सम्बोधन गर्नका लागि राजनीतिक दलहरु परिवर्तन हुनुपर्ने आवश्यकता उनले औंल्याएकी छन् । उनले पार्टीभित्रै लक्षित गर्दै नेतृत्वमा ह्रास आएको टिप्पणी गरिन् । नेतृ घर्तीले पार्टीभित्र युवा नेतृत्वले आशा गरेको र पुग्न खोजेको स्थानबारे नेतृत्व जिम्मेवार हुनुपर्ने बताईन् ।
‘हाम्रा अग्रजहरुले, हाम्रा नेताहरुले, हाम्रा आमाबुबा, दाजुहरुले निकै लडेर यो व्यवस्था आएको हो । हामीले उहाँहरुलाई एकदमै सम्मान गर्छौंं, गर्नुपर्छ । तर, कस्तो हुँदोरहेछ भने कुनै कामको लागि पनि सीमा हुँदोरहेछ । मान्छेको क्षमताको, त्यो क्षमता र्हास आयो ।’ उनले भनिन्, ‘जति हिजो क्रान्तिकारी थियो या जति हिजो उसले पहल कदमी लिनसक्थ्यो, त्यो पहल कदमी लिन नसक्ने वातावरण बन्दोरहेछ । यो यथार्थतालाई नेताहरुले स्वीकार गर्नैपर्छ । अब हुने उत्तराधिकारी को हुन् ? यो व्यवस्था अगाडि बढाउनका लागि युवाहरुलाई कुन स्थान दिन्छौं । युवाहरुले जे आवाज उठाउनु भएको छ, जुन ठाउँमा आशा गरिरहनु् भएको छ त्यो ठाउँमा दिन्छौं कि दिन्नौं भन्ने वहसमा उहाँहरु सकारात्मक हुनैपर्छ ।’
नेतृ घर्तीले यसो भनिरहँदा उनले आफ्नै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फ आफ्नो भनाई तेर्स्याएकी छन् । प्रचण्डले विगत तीन दशकदेखि पार्टीको नेतृत्व गरिरहेका छन् । त्यस्तै, उनी अहिलेसम्म तीन पटक प्रधानमन्त्री भइसहेका छन् । पार्टीको गत महाधिवेशनबाट नेतृ घर्तीका श्रीमान वर्षमान पुन पार्टीको महासचिव बन्न चाहन्थे । वर्षमानलगायत केही नेताहरुको अडान निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने थियो । तर, अध्यक्ष प्रचण्डले महाधिवेशनमा आफूलाई अधयक्ष घोषणा गर्दै बाँकी पदाधिकारीलाई पछि मनोनयन गरेका थिए । Photo By: Mukunda Kalikote/RN