Logo

बारका अध्यक्ष घिमिरेको दाबीः कानुनको गलत प्रयोगले धेरै युवा जबरजस्ती करणीमा जेल परे



काठमाडौं, २४ माघ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुनको गलत प्रयोगले धेरै युवाहरु जबरजस्ती करणी अभियोगमा जेल परिरहेको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसम पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बालिग हुने उमेर १८ बर्ष र बिबाहको उमेर २० वर्ष राखेर कानुन बनाउँदा समस्या आएको बताएका हुन् । उनले संसद्ले यो विषयलाई गम्भीर रुपमा लिएर व्यापक छलफल गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘कानुनको गलत प्रयोग भन्छु म यसलाई । अहिले हामी कहाँ बिबाहको उमेर चाहीँ २० वर्ष भयो । बालिग हुने उमेर चाहीँ १८ वर्ष भयो । यो कारणले गर्दा धेरै युवाहरु जबरजस्ती करणीको अभियोगमा जेलमा परिरहेको अवस्थाको विद्यमानता छ,’– उनले भने ।

नेपाल बार एशोशिएसनले निश्पक्ष न्यायलयको पक्षमा निरन्तर खबरदारी गरिरहेको बताए । आफूहरु अहिले न्याय परिषद्ले गरेको नियमावली संशोधनको विरोमा रहेको उनले बताए । न्याय परिषद्को नियमावलीमा संशोधन गरेर अदालतका न्यायाधीशहरुको बरियता (मर्यादाक्रम) लाई ब्यापक रुपमा हेरफेर गरेको भन्दै उनले असन्तुष्टि जनाए । न्याय परिषद्को नियमावलीमा संशोधन गैर संवैधानिक रहेको उनको दाबी छ । संविधान र कानुनको उल्लङ्घन जुनसुकै निकायबाट भएपनि नेपाल बारलाई सह्य नहुने बताए । न्यायपालिकाका प्रमुख प्रधानन्यायाधीशले नेतृत्व गर्ने न्याय परिषद्मा भएको उनको दाबी छ । न्याय परिषद् नियमावलीको विरोधमा आफूहरु ब्यापक रुपमा विरोधमा उत्रिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्