Logo

रविलक्षित गगनको आक्रोशः ‘सहकारी ठगीका मतियारलाई किन कारबाही नगरेको’



काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले सहकारी ठगी गर्ने र सहकारी ठगीका लागि मतियारको काम गर्नेलाई सरकारले कानुनी कारबाही नगरेको भन्दै संसद्मा आक्रोश ब्यक्त गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।

जुनसुकै दल सँग जोडिएको भएपनि र जतिसुकै शक्तिशाली भएपनि कानुन विपरीत काम गर्नेलाई कारबाही हुनुपर्ने उनको भनाइ छ । रवि लामिछानेलाई लक्षित गर्दै नेता थापाले ठगीको धन्दाको मतियार बनेकाहरुलाई कारबाही हुनुपर्ने बताए ।

‘जुनसुकै ताकत भएको होस्, आम नागरिकले निक्षप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ, ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउन पर्दैन ? कानुनले कारबाही गर्न पर्दैन ?’ उनले प्रश्न गरे ।

सुशासनको मूल मन्त्र कानुनको शासन र विधिको शासन भएको बताउँदै उनले जग्गा मिच्ने, जग्गा हडप्ने
नागरिकताको किर्ते गर्ने, सहकारी ठग्ने जोसुकैलाई पनि एताको, उताको, कुनैदलको वा दलभन्दा बाहिरको भएपनि आम नागरिकलाई हुने कारबाही उसलाई हुनुपर्ने बताए ।

जतिसुकै शक्तिशाली भएपनि कसैले पनि उन्मुक्ति पाउन नहुने र एउटा नागरिकले जे गर्दा दण्ड पाउँछ शक्तिशालीलाई पनि कानुन त्यसरी नै लाग्नुपर्ने उनको माग छ ।

रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगी प्रकरणमा विभिन्न निकायमा उजुरी परेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध कास्की प्रहरीमा समेत उजुरी दर्ता भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot