काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले संसद्मा पक्ष र प्रतिपक्ष गणतन्त्र मान्ने र नमान्नेबीच मात्रै हुने टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई हामीले छिटोभन्दा छिटो पूरा गर्न पक्ष र प्रतिपक्ष हेर्न नहुने बताएका हुन् । उनले न्यायपूर्ण कानुन निर्माणको पक्षमा उभिन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई आग्रह गरे ।
‘शान्ति प्रक्रियाको जगमा नै यो सदन बनेको हो । शान्ति प्रक्रियाका बाँकी कामलाई हामीले छिटोभन्दा छिटो पूरा गर्नुछ । कानुन निर्माणमा संसद्भित्रको सत्ता पक्ष र प्रतिपक्ष हुँदैन । कानुन निर्माण त न्यायपूर्ण कानुन निर्माणको पक्षधर हुन्छ । अहिलेको प्रतिपक्ष र पक्ष त यो गणतन्त्र मान्ने र नमान्ने बीचको हो । संघीयता मान्ने र नमान्ने बीचको हो, सुशासन मान्ने र नमान्ने बीचको हो । त्यस कारण कानुन निर्माणमा हाम्रो सहमति हुनुपर्छ,’– उनले भने ।