Logo

रास्वपाले दर्ता गर्‍यो सवारी दुर्घटना न्यूनीकरण गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव



काठमाडौं,२४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्युनिकरणका लागि संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

बुधबार रास्वपाकी सचेतक निशा डाँगीले संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गरेकी हुन् । डाँगीले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी हुन् ।

नेपालको संविधानको धारा १६ ले सुनिश्चित गरेको हरेक नागरिकले सम्मानपूर्वक बाँच्न पाउने हक र धारा ५१ अनुसारका राज्यका नीतिहरू मध्येको यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँचको सुनिश्चितता साथै यातायात क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउने राज्यको नीतिको ठीक विपरीत हरेक दिन औसतमा ८ जना व्यक्तिले सडक दुर्घटनामा ज्यान गुमाइरहेका रास्वपाको भनाइ छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार यस आर्थिक वर्षको पुससम्म १० हजार ७४५ सवारीसाधन दुर्घटना भएका छन्, जसमध्ये मृत्यु हुनेको संख्या ९ सय १६ रहेको छ । ती दुर्घटनामा गम्भीर घाइते हुनेको संख्या २ हजार ७५१ छ भने ११ हजार ९१ जना साधारण घाइते भएको रास्वपाले जनाएको छ ।

सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सुरक्षित पूर्वाधार निर्माण गर्ने, सडक सुरक्षा सुविधाहरूलाई भूउपयोग र यातायात योजनामा समावेश गर्ने, सवारी साधनहरूको सुरक्षा सुविधामा सुधार गर्ने, सवारी दुर्घटनाका पीडितहरूका लागि दुर्घटना पछिको तत्काल उपचारको व्यवस्था गर्ने र सवारी दुर्घटना न्यूनीकरणको नीति नियमलाई अनुशरण गरी काम गर्ने जस्ता आधारभूत कार्यमा ध्यान दिनुपर्ने रास्वपाको भनाइ छ ।

यातायात क्षेत्रको समग्र अवस्था, सवारी दुर्घटनाको भयावह यथार्थ र दुर्घटनाका कारण नागरिक र राज्यले व्यहोर्न परेको अपूरणीय क्षतिबारे सरकारलाई सचेत गराउन र यस विषयमा आवश्यक अध्ययन अनुसन्धान गरी सवारी दुर्घटना न्यूनीकरणका योजना र कार्यक्रम अघि सार्न अपरिहार्य देखिएकाले यो सार्वजनिक महत्वको प्रस्ताव अघि सारिएको रास्वपाको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्