Logo

प्रचण्ड नेतृत्वको सरकार र काम कारबाही ‘खिचडी’ : झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, २५ माघ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र उसका काम कारबाही खिचडी रहेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सत्तारुढ गठबन्धन र सरकार दुवै खिचडी भएको टिप्पणी गरेका हुन् । यसले अगाडि तान्न पनि नसक्ने र प्रतिगमनतर्फ पनि जान नसक्ने बताएका हुन् ।

‘यो देशलाई जुन दिशामा लानुपर्ने थियो, त्यो नै हुन सकेन । हामीले गठबन्धनको सरकार बनायौं । प्रचण्ड कमरेडको एकल सरकार पनि होईन । यो खासमा खिचडी सरकार छ । उहाँका नीति पनि खिचडी छन्, कार्यक्रम पनि खिचडी छन्, बजेट पनि खिचडी छ । काम कारबाही पनि खिचडी छ । खिचडीले कसरी देश अगाडि बढ्छ ? बढेन,’– उनले भने ।

देशको आवश्यकतालाई बोध गरेर देशका राजनेताहरुले अगाडि बढ्नै नसकेको उनको टिप्पणी छ । नेता खनालले सुन्दरतम् र सम्पन्न देश हुँदा पनि नेतृत्वका कारण देशका जनता गरिब बन्न परेको बताए । मन्त्री र प्रधानमन्त्री परिवर्तनबाट देश विकास र समृद्धि सम्भव नरहेको उनको भनाइ छ । देशलाई समृद्धिको दिशामा लान आधारभूत नीति र कार्यक्रम बदल्न आवश्यक रहेको उनको भनाइ छ ।

वर्तमान सरकारले आफूलाई हिँडिरहेको ठाने पनि शून्य किलोमिटरमा नै सीमित रहेको बताए । सरकार यथास्थितिमा नै रुमलिरहेको उनको भनाइ छ । साथै, वर्तमान सरकार पूर्ण रुपमा असफल भएको र अब कोर्श चेन्ज हुन आवश्यक रहेको बताए । क्रान्ति भनेर मात्रै नहुने र जनताको जीवनमा आमूल परिवर्तन हुने गरी जनमुखी सकार खाँचो रहेको उनले बताए ।

‘काम गर्न नसकेको त घटनाक्रमले नै प्रमाणित गर्दै आयो । अब उहाँहरुमा इमानदारिता छ भने अहिलेको कोर्शबाट देशको हित गर्न नसकिने रहेछ भन्ने निश्कर्षमा उहाँहरु पुग्नपर्छ । कोर्श चेन्ज गर्नुपर्छ,’– उनले भने ।

संविधान जारी भएपछि बनेका कुनै पनि सरकारले आफ्नो लक्ष्य पहिल्याउन नसकेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्