काठमाडौं, २६ माघ । आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले अहिले राज्यको चरित्र भ्रष्ट रहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माथिल्लो निकायकै संलग्नतामा देशमा भ्रष्टाचार बढेको र जनता माथि उठ्न सक्ने अवस्था नै नरहेको बताएका हुन् । उनले भ्रष्टचारमा संलग्नहरुलाई राज्यले नै चोख्याउने गरेको आरोप लगाए ।
ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिइएको भन्दै उनले आक्रोश व्यक्त गरे । सरकारी जग्गा सानातिना मान्छेले निजी बनाउन नसक्ने, तर राज्यको माथिल्लो निकायले भ्रष्टाचारीलाई संरक्षण गर्ने गर्दा अहिले देशमा भ्रष्टाचार मौलाएको उनको दाबी छ ।
‘देशमा अहिले राज्यको चरित्र भनेकै लुट र भाग । व्यापक लुट छ, जहाँ राज्य छ, त्यहाँ भ्रष्टाचार छ । देशमा भ्रष्टाचार यति बढ्यो कि जनता माथि उठ्ने कुनै सम्भावना नै छैन । अख्तियारले जो गर्न खोजेको छ, उसको क्षमताले भ्याउने अवस्था पनि छैन । राज्यको काम भनेको चोख्याउने काम भइरहेको छ । राज्यकै माथिल्लो निकाय बढी भ्रष्ट भयो । सानातिना मान्छे पर्छन्, मूल मान्छे छुट्छन्,’– उनले भने ।
आफूहरु भ्रष्टाचारीलाई जनकारबाही गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । नेता साहले जसरी एउटा चोरलाई जसले देख्यो उसले लखेट्छ, त्यसैगरी भ्रष्टाचारीविरुद्ध पनि जनता हाबी हुने अवस्था बनाइएको खण्डमा भ्रष्टाचार नियन्त्रण हुने उनको भनाइ छ ।
‘हामीले भनेका छौं– अब भ्रष्टाचारीलाई जनकारबाही गर्ने बेला भयो । भ्रष्टाचारीलाई जबसम्म आम जनताकै अगाडि गलत हो, भ्रष्टाचारीलाई हेर्न हुँदैन भन्ने मान्यता स्थापित हुँदैन, जसरी चोरीलाई जसले पायो उसैले लखेट्छ ।’ उनले भने, ‘आम जनतालाई भ्रष्टाचारीमाथि हाबी हुने अवस्था बनाइयो भने नियन्त्रणमा आउँछ ।’ File Photo/RN