Logo

कोशीमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ



काठमाडौं,२६ माघ । कोशी प्रदेशका नवनियुक्त ४ मन्त्री र २ जना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आज नेपाली कांग्रेसका दुई प्रदेशसभा सदस्य मन्त्री बने भने नेकपा माओवादी केन्द्रका दुई सांसद मन्त्री बने। यसैगरी, कांग्रेसका दुई सांसद राज्यमन्त्री बनिन्। माओवादीका तर्फबाट उदयपुरबाट निर्वाचित नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बने भने नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री बने। कांग्रेसकी इन्दिरा थापा र सुनिताकुमारी गुरुङले राज्यमन्त्रीका रूपमा शपथ लिइन्।

माओवादीका बुर्जामगरले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीका रूपमा शपथ लिँदा कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मा पाए। कांग्रेसका खत्रीले उद्योग, कृषि तथा सहकारी र सुनुवार स्वास्थ्यमन्त्री बनेका छन् ।

कांग्रेसकी इन्दिरा थापाले भने आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीका रूपमा नियुक्त भएकी छन्। आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री केदार कार्की स्वयमले लिए। यसैगरी, कांग्रेसकै गुरुङ आन्तरिक मामिला तथा योजना राज्यमन्त्री बनेकी छन्।

यससँगै कार्की नेतृत्वको १० सदस्यीय मन्त्रीमण्डल बनेको छ। नेकपा एमालेको सहयोगमा गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले निरन्तर सरकार विस्तारको भाका सारिरहेका थिए।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्ता गठबन्धनले माओवादीका ईन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अगाडि सारेका बेला कार्कीले विद्रोह गरेर कोशीको नेतृत्व लिएका लिए ।

कार्कीलाई मुख्यमन्त्री बनाएको दल नेकपा एमाले भने अहिले सरकारमा छैन् । सरकारबाट बाहिरिएको एमालेले समर्थन भने फिर्ता लिएको छैन् । कार्की सरकारमा हाल नेकपा माओवादीबाट गणेशप्रसाद उप्रेती, नेपाली कांग्रेसबाट समशेर राई र नेकपा एसका कमलप्रसाद जबेगू मन्त्री रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्